काठमाडौँ – इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी उद्धवसिंह भाट कारवाहीमा परेका छन् । साढे तीन महिना अघि दरबन्दीमा टीकापुर सरुवा भई आएका भाटलाई प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा गण नवलपरासी काज सरुवा गरेको छ । उनको स्थानमा उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरबाट डिएसपी तुल्सीराम अर्यालको काज सरुवा भएको छ ।
दरबन्दीमा परेर इलाकामा आएका कुनै पनि इन्चार्ज कम्तीमा एक वर्ष बस्ने परम्परा रहेको छ । तर, साढे तीन महिनामै काज सरुवा हुनुलाई डिएसपी भाटमाथि विभागीय कारबाही भएको भनि बुझिएको छ ।
उनी टीकापुर आएदेखि नै विवादित भएका थिए । उनले सीमा पारीको व्यापारमा संलग्न व्यवसायीहरूसंग हप्ता असुलीमा जोडबल गरेको, मातहतका प्रहरी युनिटहरूलाई महिनावारी बुझाउन दवाव दिएको, प्रहरीलाई घुस बुझाएमा भन्सारमा राजस्व तिर्नु नपर्ने भन्दै सीमानामा हुने तस्करीलाई प्रशय दिएको, कार्यालयभित्र अछामी समुदायका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको, जात र भेगको आधारमा पेलेको भन्दै प्रहरी प्रधान कार्यालयमा निवेदन परेको थियो ।
भाट विरुद्धको निवेदनमा उल्लेख आरोपमाथि अनुसन्धान र छानविन गर्न प्रहरी महानिरीक्षक वसन्त कुवरको निर्देशनमा प्रहरी उपरीक्षक नेत्रमणि गिरीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनेको थियो ।