काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चलिरहेको छ ।
मंगलबार (हिजो) बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताएका छन् ।
बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने नहुने आफूहरुले हेर्ने भन्दै उनले तर, बजेटले लिएको लक्ष्य पूरा नहुने जिकीर गरे । साथै अध्यक्ष ओलीले आगामी आर्थिक वर्षको बजेटमा निर्माणमा व्यापारीलाई सहयोग पुग्नेगरी बनाइएको आशंका व्यक्त गरे ।
नीति तथा कार्यक्रममाथिको छलफलमा आफूहरुले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै उनले अघिल्लो वर्ष ल्याइएको बजेटले लिएको लक्ष्य पूरा गर्न नसकेको बताए ।
उनले सरकारले लिएको आर्थिक वृद्धिदर पूरा नहुने बताए । करका दरमा व्यापारीको अनुहार देखिने भन्दै उनले हरेक क्षेत्रमा विचौलियाको प्रवेश देखिएको बताए । यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
बजेट निर्माणमा पूर्वनासु रामकृष्ण केसीको सहभागिताबारे दिएको जवाफप्रति अर्थमन्त्री डा. प्रकाशशरण महतलाई शंकाको सुविधा दिएको भन्दै उनले आयातभन्दा पनि देशभित्रकै खानी प्रशोधन गर्नुपर्नेमा जोड दिए ।
बजेटमा समेटिएका केही विषयप्रति आशंका गर्दै उनले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने विषयप्रति असन्तुष्टि जनाउँदै आशंका व्यक्त गरे ।
कृषिमा आत्मनिर्भर बनाउने विषयमा सरकारले ध्यान नदिएर केही व्यापारीलाई फाइदापुग्ने गरी गाँजा खेतीको कुरा समेटिएको ओलीका आशंका गरे ।
आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।