काठमाडौं – पाल्पाको रैनादेबी छहरा गाउँपालिका–८ किउरेछेडास्थित सडकमा लु.१ च ९०२४ नम्बरको जिप सडकबाट करिब ४० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अर्घाखाँची पाणिनि गाउँपालिका–२ पोखराथोक बस्ने २ वर्षीय संयोग गौतमको उपचारको लागि लैजाने क्रममा बाटोमै, सोही गाउँपालिका–१ बस्ने ४४ वर्षीय बिजय पोखरेलको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा र जिप चालक सोही गाउँपालिका–१ पडेना बस्ने २६ वर्षीय रमेश विकसमेत ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य १० जना घाइतेमध्ये ५ जनाको लुम्बिनी प्रादेशिक अस्पताल, १ जनाको बुटवल सौराहामा र ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरेको छ ।
सिरहाको बरियारपट्टी गाउँपालिका–१ नर्गी चोकस्थित सडकमा मधेश प्रदेश ०१–००४प ४८३९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी बलान बिहुल गाउँपालिका–४ बस्ने २४ वर्षीय संजय कुमार यादवको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । सवारी साधनसहित हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा स.१ त ७५८६ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीया कारो देवी सदाको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।