काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ। शुक्रवारसम्म सबै अभियुक्तहरूको बयान सकिएपछि १८ अभियुक्तको आजदेखि थुनछेक बहस हुने भएको हो ।
उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ। उनीहरुमध्यै धेरैले नक्कली भुटानी शरणार्थी प्रकरणमा इन्कारी बयान दिएका थिए । तर केही आरोपीले अर्का प्रतिवादीको पोल खोल्ने गरी केही विषय खुलाएका छन्, जसले प्रहरी अनुसन्धानबाट देखिएको निष्कर्षलाई पुष्टि गर्न मद्दत गरेको छ । अदालती बयानमा भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पोलेका छन् भने पूर्वगृहसचिव टेकनारायण पाण्डेले ‘केशव दुलालको बयान फेर्न लगाउनुपर्छ’ भनेर लेखिएको नोट आफ्नो भएको स्वीकार गरेका छन् ।
आइतबार पहिलो दिन अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्नेछन्। सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ।
हिरासतमा रहेका १८ अभियुक्तमा पूर्व प्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, सानु भण्डारी, रामशरण केसी,गोविन्द चौधरी, इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन छन्।
सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने भएपनि शुरुवातमा महेश खत्री र जनक घिमिरेले बहस गर्नेछन् ।