भक्तपुर । नेकपा एमाले समर्थित राष्ट्रिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ ।
युवा संघ भक्तपुरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा समेत मागेको छ ।
वर्तमान सरकार देश र जनताको पक्षमा नभई भारतीयको लागि मात्र भएको आक्रोस जनाउँदै संघले सरकारले गर्ने राष्ट्रघाती कदमको विरुद्धमा देशभर आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी दिएको छ ।
युवाहरुले मसाल जुलुसका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल राजीनामा दे, प्रधानमन्त्री प्रचण्ड राजीनामा दे, भारतीय विस्तारवाद मुर्दावाद, लुम्बिनी–कपिलवस्तु हाम्रो हो, गठबन्धन सरकार विकेछ–भारतसँग झुकेछ, रेशमलाई दिएको माफी फिर्ता गर, न्यायालयमाथिको राजनीतिकरण बन्द गर, गठबन्धन सरकार मुर्दावाद, प्रचण्ड तेरो पाराले–दुःख पाए साराले, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नाराहरु लगाउँदै सरकारको कडा शब्दमा आलोजना गरेको थियो ।
हालै उद्घाटन गरिएको भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि सोको विरोधमा जुलुश निकालेको थियो ।
भारतको नवनिर्मित संसद् भवनमा नेपाली भू–भागसमेत समेटर ‘अखण्ड भारत’को नक्सा अंकित गरिएपछि नेपालमा त्यसको चर्को विरोध सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको संसद् भवनको भित्तामा ‘अखण्ड भारत’ जनाउने मुरल (भित्ते चित्र) नक्सा राखिएको छ । जहाँ नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटिएको छ । भारतको सत्तारूढ दल भाजपाका नेताहरूले उक्त मुरल नक्साका तस्बिरहरू सामाजिक सञ्जालबाट साझा गर्दै ‘अखण्ड भारत’ भन्दै लेखेका छन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको यो विषयले नेपालमा भने विरोध सुरु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गरेर हटाउन लगाउनुपर्ने बताएका छन् ।