शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जम्बो टोली लिएर प्रधानमन्त्री भारत जाँदै, यस्तो छ भ्रमण तालिका

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै स्वदेश फर्कने छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँग जेठ १८ गते बिहीबार दिल्लीस्थित हैदरावाद हाउसमा विहान ११ बजे दुई पक्षीय भेटवार्ता गर्दैछन्। सोही दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय विदेश मन्त्री एस जयशंकरलगायतसँग पनि भेटवार्ता हुनेछ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन् । प्रचण्डसहितका अतिथिहरुलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ ।

साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसपछि जेठ १८ गते बिहान प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानेछन् । त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदरावाद हाउसमा फर्किनेछन् ।

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहान ११ बजे भेटवार्ता हुनेछ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन् । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

भ्रमणको तेस्रो दिन जेठ १९ गते प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । चौथो दिन जेठ २० गते शनिबार इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् । सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उनी काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।