काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण लुकाउने प्रयत्न हुँदाहुँदै आफैं विस्फोट भएको कसैले जस नलिन सुझाएका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्षकाे नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष ओलीले सरकारले यो प्रकरण लुकाउन खोजेको आराेप लगाए ।
यो प्रकरणमा ९७५ जना मान्छेसँग पैसा उठाइएको र यो चानचुने कुरा नभएको उनले बताए । यो काण्डका केही मान्छे माथि गत वर्ष नै उजुरी परेको जनाउँदै तर सरकारले गुपचुप राखेको, त्यति बेला उजुरी परेका मान्छेहरु गिरफ्तार परेका तर गिरफ्तार परेका मान्छेलाई सरकारले गुपचुप छाडेकाे उनले बताए ।
उनले भने, ‘सरकार भ्रष्टाभारविरोधीहरु बाघ मारेको जस्तो, गृहमन्त्रीज्यू उधुम हल्ला गरिरहनुभएको छ । सरकारले जुँगामा ताउ लगाउनुपर्दैन यो काण्ड अगाडिदेखि चलिराख्या रहेछ । यो काण्डको जेठ १९ कि २० गएको वर्ष, त्यति बेलै उजुरी परेको रहेछ । किन गुपचुप राखियो ? त्यति बेला उजुरी परेका मान्छेहरु गिरफ्तार परेका रहेछन् । गिरफ्तार परेका मान्छेलाई गुपचुप किन छोडियो ? लेनदेन कारोबार मिलाउने केस दबाउने कोसिस भएछ । म सरकारमा थिइनँ । सरकारमा हुनेहरुले त्यतिसम्म त गर्नुभएको रहेछ । तर, १७४ जना भुटानी शरणार्थी एब्सेन्ट ‘गयल’ छन्, त्यो ठाउँमा ९७५ सँग पैसा उठाएर फर्म भरिएको रहेछ । यो पचाउन सक्ने, दबाउन सक्ने केस होइन । यो त आफैं विस्फोट भएर भुइँचालो गएको हो । भुइँचालो मैले ल्याएँ भन्नु बेकार छ ।’
साथै अध्यक्ष ओलीले दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप समेत लगाएका छन् । आफ्नो पार्टी अपराधि नउम्किने र निर्दोष कोही नफसोस् भन्दै उनले निर्दोष फसाउने र दोषी उम्काउने काम बन्द गर्न बताए ।
प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए ।
सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता लिने बताएको भन्दै उनले बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद काण्ड, वाइडबबडी काण्ड, क्यान्टोनमेन्ट प्रकरण लगायतका विषयमा अनुसन्धान गर्न सरकारलाई कसले रोकेको भन्दै प्रश्न गरे ।
एमाले सबै कालखखण्डमा भएका भ्रष्टाचारका विषयमा छानबिन गर्न तयार रहेको र यसमा सरकारलाई सहयोग गर्न पनि एमाले तयार रहेको ओलीको भनाइ थियाे।