काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
आईतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाईरहेको कुरा आईरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरे ।
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भारतसँगको समस्याबारे खुलस्त छलफल गरी समस्याहरु समाधान गर्नुपर्ने बताए । वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन हुने जिकीर गर्दै उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्छ कि पर्दैन ? भनेर सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘सरकार परराष्ट्र सम्बन्ध संचालनमा हतास देखिएको छ । पियानो बजाउन दुवै हातका दश औंलाको चाल र गति आवश्यक पर्छ । तर दश वटै औंलाले एकैपटक पियानो थिच्यो भने त्यसमा कर्कश ध्वनी मात्रै पैदा हुन्छ । त्यसले संगीत पैदा गर्दैन । अहिले सरकारले दशवटै औंला एकै पटक थिचेजस्तो विभत्स आवाज मात्रै आएको छ । र, त्यसबाट छिमेकी मित्र राष्ट्रहरु र विदेशी समूदायलाई कूटनीतिक अपरिपक्वताको परिचय दिएको छ । नेपाल नेपाल र नेपालीको परिचय किमार्थ हुन सक्दैन । विषय बुझ्दा ढिलो भईसकेको हुन सक्दछ । सरकारको यस नीतिले नेपालको प्रतिनिधित्व गर्न सक्दैन ।
साथै उनले प्रधानमन्त्री प्रचण्डलाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरे । उनले भने, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ। यो देशका निम्ति बनाउनुस्।’