हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । प्रदेश सरकार गठनको ५७औँ दिनमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेले बागमती सरकारलाई पूर्णता दिन लागेका हुन् ।
सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएसँगै सरकार विस्तार हुन लागेको हो । सत्ता गठबन्धनमा बागमती प्रदेश सरकार विस्तारका लागि ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर १२ मन्त्रालय बनाउने गरी गठबन्धनबीच सहमति भएको हो ।
तत्कालीन माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाबीचको गठबन्धन सरकार फेरबदल भएसँगै नेकपा माओवादी केन्द्रले कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग मिलेर १० चैतमा प्रदेश सरकार पुनःगठन भएको थियो । १० चैतमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएका थिए । कांग्रेसबाट पहिलो चरणमा २६ चैतमा आर्थिक मामिलामन्त्री दलका नेता बहादुरसिंह लामा र खानेपानीमन्त्री काभ्रेका सांसद तिर्थ लामा नियुक्त भएका थिए । भागबन्डा विवादका कारण प्रदेश सरकारले पूर्णता पाएको थिएन ।
प्रदेश गठबन्धन तहमा पटक–पटकको वार्ता सफल हुन नसकेपछि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ चैत साँझ बालुवाटारमा नेताहरू बोलाएर सहमति गराएपछि बागमतीमा सरकार विस्तारको गाँठो फुकेको हो ।
जसअनुसार नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाउने भएको छ । हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै कांग्रेसबाट दुई जना सहभागी भइसकेका छन् ।
मन्त्रिपरिषद विस्तारका क्रममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको हो ।