बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको १ सय दिन, सरकार अझै अपूर्ण

आइतबार, जेष्ठ ७ २०८०

कैलाली । नागरिक उन्मुक्ति पार्टी बिना नै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुलाई मात्रै समावेश गरेर मुख्यमन्त्री शाहले आफनो मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

जसअनुसार कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् भने माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । माओवादीकी गीतादेवी माल भने राज्यमन्त्रीमा नियुक्त भएकी छिन । उनले अब उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको हैसियतमा कार्यभार सम्हाल्नेछिन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको शनिबार नै शपथ लिएका छन् ।

गत २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भए पछि शाहले पार्टीका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री नियुक्त भएको १ सय दिन नाघिसक्दा पनि अझैसम्म आफ्नो सरकारलाई पुर्णता दिन भने सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । उक्त पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको भएपनि अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए ।

उनले सुदूरपश्चिम सरकारको बिषयमा आईतबार (आज) काठमाडौँमा बैंठक बस्ने र त्यहिबाट के गर्ने ? भन्ने निर्णय हुने बताए ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् ।