शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ : प्रधानमन्त्री  

शनिबार, जेष्ठ ६ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन् ।

शनिवार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो की भन्ने शंका गर्ने गरिएको भन्दै आफूहरु सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नबिरुद्ध एकजुट हुनका लागि बसेको बताए । उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको बताए ।

उनले भने ‘सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बस्दा यो अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् की भनेर शंका गर्ने गरिएको छ, म विश्वास दिलाउन चाहन्छु, हामी सदनलाई कसरी सुचारु गर्ने भनेर बसेका हौँ । साथै देशमा एकथरी मानिसहरु नेपाली जनताले झन्डै ७ दशक भन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ । त्यसरी बस्नुको तात्पर्य १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउनसक्छ भनेर बसेका हौँ ।’

उनले पुँजीबजार सम्बन्धीका सेटिङहरु भत्काएको बताए । उनले सरकारले अहिले राजश्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले रेमिट्यान्सको वृद्धि गर्न पनि काम गरिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणको तयारी नयाँ रेकर्ड बनाउने गरी हुन लागेको बताए ।