शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सबैखाले भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध आज दिउँसो १ बजे बसन्तपुरमा भेटौं : राजेन्द्र लिङ्देन

बिहिबार, जेष्ठ ४ २०८०

काठमाडौं । राप्रपाले भ्रष्टाचारविरुद्ध बिहीबार विरोधसभाको आयोजना गरेको छ ।

काठमाडौंको वसन्तपुरमा बिहीबार दिउँसो हुने विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र  लिङदेनले सम्बोधन गर्नेछन् । आज दिउँसो १.००बजे सबैखाले भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध बसन्तपुर, काठमाडौँमा भेट्न लिङ्देनले अनुरोध समेत गरेका छन् ।

सबै भ्रष्टाचार घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गर्न लागेको हो ।

नक्कली शरणार्थी प्रकरण केवल अंकको भ्रष्टाचार मात्र नभइ राज्य विरुद्धको अपराध रहेको राप्रपाले ठहर गरेको छ ।

कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने भन्दै उसले सबै ठूलठूला भ्रष्टाचार काण्डका फाइलहरु पनि खोलिनु पर्ने माग राखेको छ । २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरुको सम्पत्ति छानविन गरेर अवैध सम्पत्ति जफत गर्न भन्दै राप्रपाले प्रधानमन्त्री  दाहाललाई ज्ञापनपत्र पेश समेत गरेको छ ।

प्रमुख दलका कारण मुलुक गम्भीर संकटमा भएको राप्रपाले स्पष्ट पारेको छ । केन्द्रिय समितिमा प्रस्तुत प्रतिवेदनमा राप्रपाले प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै मुलुकका तीन प्रमुख अंगहरूका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको बताएको छ ।

साथै कमजोर अर्थतन्त्र, बढ्दो युवा वेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नभएको उसले ठहर गरेको छ ।