शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो खाँणभन्दा माथि पुग्ला भन्ने कांग्रेसमा त्राहिमाम्

बिहिबार, जेष्ठ ४ २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो नेता बालकृष्ण खाँणभन्दा माथि जानसक्ने त्राहिमाम् छन् । यो प्रकरणका कारण कांग्रेस भित्र तीव्र रूपले ध्रुवीकरण बढ्दै गएको छ ।

कांग्रेसको नेतृत्व र संस्थापन पक्षकै कतिपय नेताहरू यस प्रकरणको लहरो यो भन्दा माथि जान नहुने पक्षमा देखिएका छन् ।

अडियोमा सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजू देउवा र बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम उल्लेख गरिएको छ। उनीहरु दुवै जना कांग्रेसका समानुपातिक सांसद पनि हुन्।

संस्थापन इतरका नेताहरूको जोड यस प्रकरणमा जोडिएका कोही पनि उम्किन नहुने पक्षमा छन् । शरणार्थी प्रकरण र भ्रष्टाचार मुद्दालाई लिएर महामन्त्री थापाले देशव्यापी अभियान छेड्न खोज्दैछन्। जसलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतको साथ देखिन्छ । इतर समूहका नेताहरू मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरे लगायतको अर्को टोलीले पार्टी रूपान्तरणका लागि भन्दै अर्को अभियान थालिसकेका छन् ।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा हिरासतमा राखेर प्रहरीले बयान लिएको छ । पार्टीका पूर्वसभासद् आङ्टावा शेर्पा पनि हिरासतमा छन् । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं पार्टी केन्द्रीय सदस्य आरजू राणा र पूर्वगृहमन्त्री खाँण पत्नी एवं केन्द्रीय सदस्य मञ्जु खाँण पनि यो प्रकरणमा मुछिएको आशंकामा प्रहरीले प्रमाण जुटाइरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसभित्रको मतभेद सार्वजनिक रूपमै छरपस्ट हुन थालेको छ । निलम्बनका विषयमा पार्टी पदाधिकारीबीचमै विवाद देखिएपछि गत बिहीबार दोस्रो दिन बसेको पदाधिकारी बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ । खाँण कांग्रेसको केन्द्रीय सदस्य छन् ।

कांग्रेस सभापति देउवा नै खाँणलाई पदीय जिम्मेवारीबाट निलम्बन गर्ने पक्षमा नभएकाले पदाधिकारी बैठकले निष्कर्ष निकाल्न सकेन । पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्माले अनुसन्धानमा सहयोग पु-याउन र पार्टीको छवि जोगाउन खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । त्यसको चर्को प्रतिवाद गर्दै संस्थापन पक्षीय सहमहामन्त्री महेन्द्र यादवले खाँणलाई फसाउन खोजिएको दाबी गर्दै कुनै पनि हालतमा निलम्बन गर्न नहुने अडान लिएका थिए। खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा केहीछिन चर्काचर्की परेपछि महामन्त्री थापाले खाँण आफैँले अनुसन्धानका लागि सहयोग पु-याउन जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुपर्ने विकल्प सुझाएका थिए ।

कांग्रेसका संस्थापन इतर पक्षमा नेता डा. शेखर कोइरालाले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण कुनै बाहनामा ढाकछोप गरे कांग्रेस अप्ठ्यारोमा पर्ने बताएका छन् । नेपाली नागरिकलाई अनागरिक बनाउँदै विदेश पठाउने कार्य लज्जास्पद भएको कोइरालाको टिप्पणी छ । कुनै पनि बहानामा यो प्रकरण ढाकछोप गर्न नहुने उनको भनाइ छ ।

नेतृत्वले बैठक बोलाउन चासो नदिएपछि पार्टीको भविष्य जोगाउन सबै विषय र मुद्दाबारे सार्वजनिक रूपमै राख्न सभा बोलाउने विषयमा छलफल चलिरहेको महामन्त्री थापानिकट एक नेताले जानकारी दिए।

नक्कली शरणार्थी बनाउनु संगठित र गम्भीर अपराध मात्रै नभएर राष्ट्रघाती काम रहेको तर्क गर्दै यसलाई गम्भीर रूपमा लिन नेतृत्वलाई नेताहरूले दबाब दिए पनि सभापति देउवाले अझै परामर्श गर्ने भनेर टारिरहेका छन् ।

अन्तर्राष्ट्रिय मञ्चमा देशकै बदनाम गराउने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका प्रभावशाली नेता खाँण र पूर्वसभासद आङ्टाबा शेर्पा पक्राउ परिसक्दा पनि कांग्रेस सभापति देउवाले पार्टीमा छलफल गर्न राजी छैनन् । कांग्रेसको विधानमा दुई महिनामा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्ने व्यवस्था छ तर बैठक नबसेको नौ महिना भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाउँदै गरिएको ठगी धन्दामा आफ्नै पार्टीका नेताहरू संलग्न रहेको आरोप लाग्दासमेत सभापति देउवाले बैठक टार्न थालेपछि महामन्त्री थापाले मंगलबार विज्ञप्ति नै जारी गर्दै आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । त्यसलाई पार्टीकै दृष्टिकोणका रूपमा लिनसमेत महामन्त्री थापाले आहृवानसमेत गरेका छन् । अनुसन्धानको दायरामा परेका जोसुकै सार्वजनिक पदबाट अलग हुनुपर्ने, नभए पार्टीले निलम्बन गर्नुपर्ने थापाको धारणा छ ।

आरजू राणा र खाँण पत्नी मञ्जुले गिरोहबाट पैसा लिएको भनिएको अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेकै बेला पार्टी प्रवक्ता डा. प्रकाशरण महतले  पत्रकार सम्मेलनमार्फत नै प्रतिरक्षामा उत्रिएका छन् । पार्टी प्रवक्ता महतले अडियोको वैधानिकताबारे प्रहरीले जाँच गरिरहेकै बेला ‘फेक’ अडियोलाई लिएर ‘मिडिया ट्रायल’ गर्न खोजिएको भन्दै आरजूको बचाउ गरे।

सभापति देउवाले वैशाख २८ मा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन खोजेका थिए । तर, बुधबार र बिहीबार बसेको पदाधिकारी बैठकमा उपसभापति गुरुङ, महामन्त्रीद्वय थापा र शर्माले खाँणको पार्टी सदस्यता निलम्बन गर्नुपर्ने माग उठाएपछि पछि हटेका समाचार बाहिरिएका छन् ।