बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणको शुरुवात नै तत्कालीन गृहमन्त्रीको नेतृत्वमा भएको हो : महासचिव पोखरेल

'आर्थिक संकटको कारण बजेट बनाउँदा अनधिकृत व्यक्ति समावेश'

मंगलबार, जेष्ठ २ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको शुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको एमाले महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् ।

एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरणको शुरुवात भएको उनले जिकिर गरे ।

पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बद्मासी अरुले गरेपनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

पोखरेलले यो अपराधमा संलग्नहरु भ्रष्टाचार बिरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग समेत गरे ।

उनले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौति समेत दिए ।

मुलुकमा भएको ठूलाठूला भ्रष्टाचारको काण्डहरुलाई छानबिन गर्न एमाले तयार भएपनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उनको दाबी थियो ।

महासचिव पोखरेलले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको दोहो-याए । उनले देउवा नेतृत्वकै तत्कालीन पाँच दलीय गठबन्धनको सरकारले अनधिकृत व्यक्तिहरुलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको उल्लेख गर्दै सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह समेत गरे ।