काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबीच सत्तारुढ घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारले मर्माहित भएको बताएका छन् ।
सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको बताएका हुन् । उनले यस्तै चाल रहे गठबन्धन लामो समय नचल्ने चेतवानी समेत दिएका छन् ।
उनले भने, ‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले थपे, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’
उचित मन्त्रालय र आफ्ना माग पूरा हुने शर्तमा रवि लामिछाने नेतृत्वको दल रास्वपा पनि सरकारमा सहभागी हुने बताइरहेका बेला बस्न लागेको सत्ता गठबन्धनको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।