काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ ।
उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।
साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न र सरकारलाई दिइएको समर्थनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ ।
केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङ गरी जानकारी दिएको थियो ।
भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिए ।
यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रास्वपाका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार रास्वपाको सरकारप्रतिको धारणा बुझ्नका लागि प्रधानमन्त्री दाहालले रास्वपा नेतृत्वसँग छलफल गरेका हुन्।
“अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो, हाम्रो पार्टीको भोलि केन्द्रीय समिति र संसदीय दलको बैठक पनि बस्दैछ, सोही सन्दर्भमा सरकारप्रति पार्टीको धारणा बुझ्नका लागि पनि प्रधानमन्त्रीले सभापतिसँग छलफल गर्नुभएको हो”, उपसभापति अर्यालले भने ।