काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गरेका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत कोइरालाले भनेका छन्, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’
साथै कांग्रेस नेता कोइरालाले विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै उनले पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताएका छन् ।
कोइरालाले उनीहरुलाई पैसा होईन रोजगारी दिन पनि सुझाएका छन् ।
सरकारले तत्कालीन माओवादी सेनाका अयोग्य लडाकुहरुलाई कार्यविधि बनाइ राहत दिने निर्णय गरेको छ । कांग्रेसलगायत गठबन्धनका दल सरकारमा नभएको मौका छोपेर माओवादी एक्लै भएको बेला सरकारले यस्तो निर्णय गरेको थियो । साथै सरकारले जनयुद्धमा मारिएकाहरुलाई सहिद सूचीमा राखेर राजपत्र प्रकाशित गरिसकेको छ । त्यस्तै सरकारले फागुन १ लाई जनयुद्ध दिवसको राष्ट्रिय मान्यता दिएको थियो ।