प्राविधिकतर्फका इन्स्पेक्टरका लागि पनि उमेरहद बढाएर ३० वर्ष कायम गर्न प्रस्ताव
काठमाडौँ – नेपाल प्रहरीको इन्स्पेक्टरका लागि २५ वर्षको उमेरसम्म मात्रै प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेकामा अब तीन वर्ष बढाएर २८ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ । संघीय प्रहरी ऐन, २०७९ को मस्यौदामा उमेरहद बढाउने प्रस्ताव गरिएको हो । हाल प्रहरी सेवा नियमावली, २०७१ कार्यान्वयनमा छ ।
मस्यौदामा प्राविधिकतर्फ इन्स्पेक्टरका लागि भने भर्ना हुन पाउने अधिकतम उमेर ३० वर्ष प्रस्ताव गरिएको छ । हाल कार्यान्वयनमा रहेको ऐनमा २८ वर्ष तोकिएको छ । प्रहरी संगठनभित्रै कार्यरत राजपत्र अनंकित प्रहरी कर्मचारीको हकमा भने हाल कायम ३५ वर्षे उमेरहद नै कायम राख्न प्रस्ताव छ ।
प्रहरी इन्स्पेक्टरमा प्रतिस्पर्धा गर्न पाउने न्यूनतम उमेर पनि एक वर्ष बढाएर २१ वर्ष प्रस्ताव गरिएको छ । हाल २० वर्ष उमेर पुगेपछि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेकोमा अब २१ वर्ष पुग्नुपर्ने प्रस्ताव गरिएको हो ।
गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव केदारनाथ शर्माले भने, ‘संघीय प्रहरी ऐनमा साधारणतर्फ प्रहरी निरीक्षकमा भर्ना हुने अधिकतम उमेर २८ वर्ष र प्राविधिकतर्फ ३० वर्ष प्रस्ताव गरिएको छ । संगठनभित्रै रहेकाहरूले भने ३५ वर्षको उमेरसम्म प्रहरी निरीक्षक पदका लागि भिड्न पाउनेछन् ।’ उनका अनुसार प्रस्तावित प्रहरी ऐन हाल अर्थ मन्त्रालयमा अड्किएर बसेको छ । आवश्यक सुझाव लिन गृहले १५ फागुनमै अर्थमा पठाएको थियो ।
प्रस्तावित ऐनमा इन्स्पेक्टरका लागि शैक्षिक योग्यता भने हाल कायम रहेकै कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने भनिएको छ । त्यस्तै, अहिलेजस्तै प्रतियोगीले अनिवार्य लिखित परीक्षा पास गर्नुपर्नेछ । लिखित परीक्षासँग सम्बन्धित सम्पूर्ण काम लोकसेवा आयोगले गर्ने प्रस्तावमा उल्लेख छ । लिखित परीक्षा उत्तीर्ण गर्ने प्रतियोगी मात्रै बाँकी प्रक्रियामा सहभागी हुन पाउँछन् । तर, अधिकांश प्रतिस्पर्धी लिखित परीक्षामै फेल हुँदै आएका छन् । उमेरहदको नयाँ व्यवस्थाअनुसार प्रतिस्पर्धीले लामो तयारी गर्न पाउने भएकाले यो समस्या हल गर्ने गृहको बुझाइ छ ।
‘भर्ना उमेरहद २५ वर्षबाट २८ पुर्याउँदा उम्मेदवारलाई तयारी गर्ने समय पर्याप्त हुने भएकाले लिखित परीक्षामा सहजै नाम निस्किन सक्छ,’ सहसचिव शर्माले भने, ‘प्राविधिकतर्फ इन्स्पेक्टरको भर्ना उमेरहद ३० वर्ष प्रस्ताव गर्नुको कारण पनि लिखित परीक्षालाई नै मुख्य आधार मानेर हो ।’
३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव, आइजिपीको पदावधि तीन वर्ष मात्रै
प्रस्तावित संघीय प्रहरी ऐन, २०७९ मा नेपाल प्रहरीमा जारी ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव गरिएको छ । प्रहरीमा अवकाश हुन पदावधि र उमेरहदलाई मात्रै आधार बनाइएको छ ।
प्रस्तावित ऐनअनुसार आइजीको पदावधि तीन वर्ष तोकिएको छ । उमेरहद ५८ वर्ष तोकिएको छ । त्यस्तै, एआइजीको पदावधि चार वर्ष र उमेरहद ५७ वर्ष तोकिएको छ । डिआइजीको पदावधि पाँच वर्ष छ भने उमेरहद ५६ वर्ष तोकिएको छ ।
विद्यमान कानुनमा आइजीको पदावधि चार वर्ष तथा एआइजी र डिआइजीको पाँच–पाँच वर्ष तोकिएको छ । उमेरहद भने आइजीको ५८ वर्ष तथा एआइजी र डिआइजीको समान ५६ वर्ष तोकिएको छ । तर, ३० वर्षे सेवाहदका कारण प्रहरीको कुनै पनि उच्च अधिकृत पदावधि र उमेरहदका कारण अवकाशमा जाँदैनन् ।
त्यस्तै, एसएसपीको पदावधि ६ वर्ष प्रस्ताव गरिएको छ भने एसपीको १० वर्ष प्रस्ताव गरिएको छ । अवकाश हुने उमेरहद भने एसएसपी र एसपी दुवैको समान ५६ वर्ष नै प्रस्ताव गरिएको छ । विद्यमान कानुनमा पनि एसएसपी र एसपीको पदावधि क्रमशः ६ र १० वर्ष र उमेरहद भने समान ५५ वर्ष तोकिएको छ । नयाँ पत्रिकाबाट