पोखरा । नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार भएको मतदानमा विश्वासको मत पाउन नसके पछि उनको सरकार ढलको छ । साथै, उनी स्वतः पदमुक्तसमेत भएका छन् ।
मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा समक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसे पछि उनी पदमुक्त भएका हुन् । उनले आफुलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।
केन्द्रिय राजनीतिमा बदलाव आएसँगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संवैधानिक ब्यवस्था अनुसार दोस्रो पटक विश्वासको मत लिएका अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् ।
अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।
तर, माओवादीले पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ । अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउने भएपनि दुवै दलले नेतृत्वमा दाबी गरेपछि अन्योल भएको छ । अन्तत दुवै दलले पालैपालो सरकारको नेतृत्व पाउने गरि सहमतिको प्रयास भइरहेको बताइएको छ ।