बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दुई वर्षअघि नै उद्घाटन भएको धरहराको अझै १५ प्रतिशत काम बाँकी

आइतबार, बैशाख १० २०८०

काठमाडौं घुम्न आउने धेरैका लागि सुन्धारास्थित धरहरा आरोहण आकर्षण बन्ने गर्छ । तर, आठ वर्षअघि गएको भूकम्पले धरहरा ढलेपछि सर्वसाधारणको यो चाहना पूरा हुन सकेको छैन । हुन त ढलेको धरहरा दुई वर्षअघि नै ठडिइसके पनि सर्वसाधारणले भने अझै प्रवेश पाएका छैनन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ठडिएको भन्दै उद्घाटन पनि गरेका थिए । तर, वरपरको संरचना अझै बनिनसकेको भन्दै सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । धरहरा निर्माण अझै १५ प्रतिशत बाँकी रहेको जनाइएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले ११ वैशाख ०७८ मा उद्घाटन गरेका थिए ।

धरहरा निर्माण गरिरहेको कम्पनी जिआइटिसी रमन कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर रमेश पौडेलका अनुसार धरहरा अगाडिपट्टिको सडक व्यवस्थित र बगैँचा निर्माण, बाहिरी भाग व्यवस्थित, हरियाली बनाउने, ढुंगा छाप्नेलगायत काम बाँकी छ । छेउमै रहेको सुन्धारा पुनर्निर्माण र पुरानो धरहरा व्यवस्थापन पूरा नभएको उनले बताए । ‘काम त ८५ प्रतिशत सकियो । सरकारी पक्षबाट भुक्तानी ढिलो हुँदा असहज भएको छ,’ पौडेलले भने । उनका अनुसार सहरी विकास तथा भवन निर्माण विभागले करिब २५ करोड भुक्तानी गर्न बाँकी छ ।

धरहरामा जडान गरिएको दुईमध्ये एक लिफ्ट प्रयोगमा नआउँदै बिग्रिएको थियो । त्यो पनि मर्मत भइसकेको छ । धरहरामा अहिले पनि दैनिक एक सय ५० जना कामदारले काम गरिरहेका छन् । धरहरा निर्माण दुई वर्षमा सम्पन्न हुने गरी ०७५ मा रमन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । सोही वर्षको कात्तिकदेखि कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । हालसम्म चारपटक म्याद थप भइसकेको छ ।

जिआइटिसी रमन कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर रमेश पौडेल भन्छन्–
धरहरा अगाडिपट्टिको सडक व्यवस्थित र बगैँचा निर्माण, बाहिरी भाग व्यवस्थित, हरियाली बनाउने, ढुंगा छाप्नेलगायत काम बाँकी छन् । पुरानो धरहरा व्यवस्थापन पनि पूरा भएको छैन । सरकारी पक्षबाट भुक्तानी ढिलो हुँदा पनि असहज भइरहेको छ ।

पुरानो धरहरा संरक्षण अघि बढेन
धरहरापरिसरका अन्य संरचना निर्माणले गति लिए पनि सुन्धारा पुनर्निर्माण र पुरानो धरहरा संरक्षणसम्बन्धी काम अघि बढ्न सकेको छैन । सुन्धारा पुनर्निर्माण गलत तरिकाले भएको आरोपमा स्थानीयले विरोध गरेपछि काम रोकिएको थियो । निर्माण कम्पनीको कामविरुद्ध काठमाडौं महानगरका मेयर बालेन्द्र साहले समेत आपत्ति जनाएका थिए । भूकम्पले ढलेको धरहरा संरक्षण पनि उपयुक्त तरिकाले नभएको भन्दै स्थानीयले विरोध गरेपछि कम्पनीले काम रोकेको थियो । नयाँ पत्रिकाबाट