बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

लुम्बिनीका मुख्यमन्त्रीले थाले पुन: विश्वासको मत लिने तयारी

मंगलबार, बैशाख ५ २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी वैशाख ११ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेका नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जसपा लगायतका दलले समर्थन फिर्ता लिएपछि गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बैठक बोलाएको छ । उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने बताइएको छ ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए। प्रदेशसभा सचिव दुर्लभकुमार पुनले हालसम्म विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव भने दर्ता भइनसकेको बताए । तर, वैशाख १२ भित्र विश्वासको मत लिनैपर्ने भएकाले ११ गतेकै बैठकमा विश्वासको मत लिने गरी तयारी अघि बढेको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । सत्ता समीकरण अनुसार माओवादी केन्द्र लगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो ।

राप्रपाले गिरीको साथ नछोडेको अवस्थामा अहिले एमालेसँग ३३ सांसद देखिन्छन् । लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका १० दलमध्ये आठ दल र एकजना स्वतन्त्रसमेत ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । अहिले एमालेका २९ र राप्रपाका चार सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

गिरीलाई विश्वासको मत पाउन ४४ सांसद आवश्यक पर्छ । अहिलेको अवस्थामा गिरीले विश्वासको मत नपाउने अवस्था छ । विश्वासको मत नपाएमा गिरीको सरकार ढल्नेछ । त्यसपछि संविधानको धारा १६८ को उपधार २ अनुसारको बहुमतको सरकार बन्ने कि उपधारा ३ अनुसार ठूलो दलको सरकार बन्ने भन्नेमा भने मतान्तर देखिएको छ ।

कांग्रेस माओवादी लगायतका दलले उपधार २ अनुसारकै दुईभन्दा बढी दलको सरकार बन्ने बताएका छन् । एमालेले आफू ठूलो दल भएकाले उपधारा ३ अनुसार फेरि गिरी मुख्यमन्त्री बन्ने दाबी गर्नेछ ।