बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अडियो प्रकरण

पार्टीले सहयोग नगरे ‘कोर टिम’ सार्वजनिक गरिदिने ढाकाकुमारको चेतावनी

बुधबार, चैत्र २९ २०७९

काठमाडौं । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणका विषयमा पार्टीले सहयोग नगरे ‘कोर टिम’ सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।

उनले अनुशासन समितिमा बयान दिने क्रममा यस्तो चेतावनी दिएको एक सदस्यले जानकारी दिए । सांसद श्रेष्ठले अप्ठेरो परेका बेला आफूलाई पार्टीले सहयोग गर्नुपर्ने समेत बताएको ती सदस्यले बताए ।

उनका अनुसार पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले कोर टिमको खुलासा गरिदिने चेतावनी दिएका हुन् ।

सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको हुँदा पार्टीलाई सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईसँग २ करोड सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।

अनुशासन समितिले श्रेष्ठसँग मंगलबार बयान लिएको थियो । बयानका क्रममा पहिले श्रेष्ठले उक्त अडियोको आवाज आफ्नो नभएको बताएका थिए भने पछि आफूलाई फसाउन सम्पादन गरिएको भनेका थिए । साथै आफूलाई फसाउन खोजिएको र यस्तो अप्ठेरो अवस्थामा पनि पार्टीले सहयोग नगरे ‘कोर टिम’ सार्वजनिक गरिदिने चेतावनी दिएका थिए ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले घुस डिल गरेको अडियो सम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।

उक्त प्रतिवेदनका आधारमा रास्वपाले निर्णय लिन आज केन्द्रीय समितिको बैठक बोलाएको छ । यस अघि ९ बजे बस्ने भनिएको बैठक आन्तरिक कारणले २ बजेलाई सारिएको रास्वपा महामन्त्री मुकुल ढकालले बताए ।

उनका अनुसार पार्टीका नेताहरु चुनावी अभियानमा चारैतिर खटिएकाले बैठक सारिएको हो । केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने महामन्त्री ढकालले बताए।