बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

विवाद र मुद्दा मामिलाको चाङमाथि रविको राजनीति

बिहिबार, चैत्र २३ २०७९

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राहदानी प्रकरणमा मुद्दा दर्ताको आदेश माग गरि दायर भएको रिट हेर्न मानेनन्। नागरिकता प्रकरणमा राय दिएका कारण उक्त रिट हेर्न नमिल्ने सिन्हाको जवाफपछि सर्वोच्चका अर्का न्यायाधीश हरि फुयाँलको इजलासले महान्यायाधीवक्ताको कार्यालयलाई मुद्दा दर्ता गर्न नपर्ने जवाफ माग्दै कारण देखाऊ आदेश जारी गरेको थियो। विवाद र मुद्दा मामिलाबीच रवि लामिछानेले राजनीतिक यात्रा सुरु गरेका थिए, अहिले उपनिर्वाचनमा चितवन–२ मा प्रतिनिधि सभाका लागि मत मागिरहेका छन्। उनको उदय अस्वभाविक बनिसकेको छ। प्रतिनिधि सभामा चौथो दलका रुपमा उदय गरेको रास्वपाको सभापति लामिछाने उक्त पार्टीको मुखौटा पनि हुन्।

‘रवि लामिछाने नभए उक्त पार्टी नै हुँदैन, त्यसैले उनको उपस्थिति र राजनीतिक सफलतामा नै रास्वपा छ’, राजनीतिक विश्लेषक भन्छन्,‘पार्टीको सिद्धान्त र दृष्टिकोण होइन अहिलेका मूलधारका दलको मनोपोलीको विकल्पमा लामिछानेको व्यक्तित्वलाई जनताले रुचाएका हुन्।’ आक्रामक शैली र समयानुकुल भावलाई लामिछानेले प्रयोग गर्दै आउँदा राजनीतिमा एक हदको सफलता पाइरहेका छन्। तर, विवादमुक्त छैनन्। ‘विवाद र चर्चामा नरहे राजनीतिमा टिक्न मुस्किल पर्छ भन्ने उनले बुझेका रहेछन्’, विश्लेषक भन्छन्,‘जनताको भावलाई राम्रोसँग उपयोग गरेका कारण नै विभिन्न निकाय पनि उनीविरुद्ध कठोर निर्णय गर्नका लागि डर मान्छन्।’ एउटा टेलिभिजन कार्यक्रममार्फत भुइँमान्छेका सवाल उठाएका कारण चर्चामा रहेपछि राजनीतिमा सक्रिय रहेका लामिछाने चुनाव जित्नेमा निर्धक्क छन्। वैकल्पिक राजनीतिक शक्तिका रुपमा जनताले उनको पार्टीलाई अनुमोदन गर्दै आएको छ। तर, उनी विवादबाट पर छैनन्। मुद्दा मामिलाको चाङमाथि उभिएर उनले राजनीति गरिरहेका छन्।

एउटा कुशल मुलुक निर्माणको घोषणा गरेका उनलाई नीतिगत तहमा कमजोरी गर्दा पनि जनताले किन पत्याइरहेका छन्? एक विश्लेषक भन्छन्,‘मूलधारका राजनीतिक दलको व्यवाहार र अर्कमण्यताको उपज हो, रविको सफलता होइन, कांग्रेस, एमाले र माओवादीलगायतका दलको असफलताबीच उनको उदयलाई विवाद भए पनि जनताले रुचाइरहेका छन्।’ न्यूज २४ टेलिभिजनमा कार्यक्रम चलाइरहँदा श्रमस्वीकृति नलिई नेपालमा काम गरेको उजुरी उनीविरुद्ध परेको थियो। त्यसपछि उनले अमेरिकी नागरिकता र राहदानी त्यागेर नेपाली नागरिकका रूपमा स्वदेशमा रहने घोषणा गरेका थिए। एक पूर्वसहकर्मीले आत्महत्या गरेपछि लामिछानेविरुद्ध २०७६ सालमा आत्महत्या दुरुत्साहनको मुद्दा पर्यो । चितवनमा आत्महत्या गरेका शालिकराम पुडासैनीले आफ्नो मोबाइल फोनमा लामिछाने सहितका सहकर्मीका कारण ‘आफू मर्न बाध्य भएको’ भन्दै खिचेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। उक्त प्रकरणमा लामिछानेले पछि अदालतबाट सफाइ पाए।

गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि लामिछानेको नागरिकता अवैध भएको दाबी गर्दै निर्वाचन आयोगमा उनीविरुद्ध उजुरी प¥यो। आयोगले नागरिकताको विषय आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरीमा छानबिन गरेन। जनताको अभिमत पाए पनि सरकारमा जाने म्यान्डेड नपाएका उनी हतारमा उपप्रधान तथा गृहमन्त्रीको पद स्वीकार गर्न पुगे। तर, केही दिनमा नै उनको उक्त पद गुम्यो। त्यसपछि उनी मिडियाविरुद्ध खनिएर राजनीतिक यात्रामा छन्।