काठमाडौं । कोशी नामकरणको विषयमा नेकपा माओवादी केन्द्रले दोहोरो चरीत्र देखाएको छ । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीले बुधबार बसेको उसकाे पदाधिकारी बैठकले फेरि पहिचानकै पक्षमा रहने निर्णय गरेको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।
पार्टी निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको सुनाए । माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामाकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको समेत उनले बताए ।
गत फागुन १७ गते बसेको काेशी प्रदेश सभा बैठकले सो प्रदेशको नाम ‘कोशी प्रदेश’ हुने टुंगो लगाएको थियो । साथै त्यो बेला केन्द्रकै सल्लाह सुझाव बमोजिम प्रदेशको नामाकरण भएको बताइएको थियो । मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री प्रचण्डकै राय सल्लाहमा नामाकरण भएको भन्ने समाचार बाहिरिएका थिए । तर, एकाएक माओवादी उक्त निर्णयबाट ब्याक हुनुको पछाडि माओवादीको ‘जता मल्कु उतै ढल्कुँ’ नीति भएको विश्लेषण हुन थालेको छ ।
कोशीमा माओवादीका १३ सांसद छन् । माओवादीबाटै एकजना सभामुख भएकाले बाँकी १२ जनाले कोशीको पक्षमा मतदान गरेका थिए ।
प्रदेश नामाकरणको मतदानमा प्रस्तावको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो । ६ जना सांसद अनुपस्थित भएका थिए।
त्यसपछि प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको ब्यानरमा आन्दोलन भइरहेको छ । नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, पहिचान सहितको प्रदेश नं १ पुनः नामाङ्कन अभियान समिति बनेको छ ।
उक्त आन्दोलनका क्रममा आन्दोलन पक्षका एक जनाको मृत्यु समेत भएको छ । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने उनीहरुको माग छ ।