बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

वाचापत्र सार्वजनिक गर्दै श्रेष्ठले भने: महासंघका प्रादेशिक कार्यालयको क्षमता विस्तार गर्ने योजना छ

बुधबार, चैत्र २२ २०७९

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठले महासंघका प्रादेशिक कार्यालयको क्षमता समेत विस्तार गर्ने आफूहरुको योजना रहेको बताएका छन् । बुधबार उम्मेदवार परिचय र वाचापत्र उदघोष कार्यक्रममा बोल्दै श्रेष्टले महासंघका प्रादेशिक कार्यालयहरु नामक लागि मात्र भएको बताउदै त्यसलाई सक्रियताका साथ संचलन गर्न आवस्यकता रहेको र त्यसको स्पष्ट खाका आफुहरुसँग रहेको बताएका हुन् ।

उनले घरेलु तथा व्यवसायहरुको समस्या समाधानका लागि स्थानिय सरकारहरुसँगको सहकार्यमा विशेष ध्यान र जोड दिने बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने,‘व्यावसाय दर्ता सञ्चालन र खारेजीको प्रक्रियामा सहजता प्रदान गर्नका लागि हामीहरु प्रतिबद्व छौँ । घरेलु तथा व्यवसायहरुको समस्या समाधानका लागि स्थानिय सरकारहरुसँगको सहकार्यमा विशेष ध्यान र जोड दिनेछौँ । महासंघका प्रादेशिक कार्यालयको क्षमता समेत विस्तार गर्ने योजना छ ।’

एफएनसीसीआईका आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ। श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन्।

“अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,” उम्मेदवारी दर्ता गर्ने क्रममा श्रेष्ठले भनेका थिए, “अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ।”

यस्ता छन् श्रेष्ठको चुनावी वाचा र संकल्पहरु:

  • उद्योगी व्यवसायीका कुरा सरकारमा बस्नेले ध्यानपूर्वक नसुनिइदिने विद्यमान समस्यालाई चिर्न र व्यवसायी भनेका देश विकासका लागि सरकारका सहयात्री हुन् भनेर स्थापित गराउनु मेरो मुख्य उद्देश्य हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका अघिल्ला नेतृत्वले सुरु गरेका सुधारका कार्यहरूलाई निरन्तरता दिने छु । महासंघको कार्यालयमा हुने कार्यसम्पादनलाई सुदृढ गर्ने प्रण गर्दछु ।
  • निजी क्षेत्र र सरकार नदीका दुई किनारा होइनन् । हाम्रा लक्ष्य अलग छैनन्, सरकार र निजी क्षेत्र मिलेर काम गर्दा दुवै पक्ष लाभान्वित हुनेमात्र होइन, मुलुककै सर्वांगिण विकासका लागि आधार बन्नेछ । व्यवसायीहरू पीडा सुनाइरहने र सरकारका तर्फबाट उचित सम्बोधन नहुने अहिलेको अवस्थालाई सुधार्न म अहोरात्र खटिनेछु ।
  • वातावरण निर्माण र उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धिका लागि महासंघले उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन गर्न सरकारसँगको साझेदारीमा सुविधासहितका आकर्षक कार्यक्रमहरू ल्याउने योजनाका लागि पहल गर्नेछु । युवा उद्यमी, स्टार्टअप तथा उद्योगी व्यवसायीहरूलाई सहजीकरण गर्नका लागि थालिएका सम्पूर्ण कार्यहरूलाई निरन्तरता दिँदै नीतिगत सुधारमा सरकारलाई निरन्तर झक झाक्यउने कार्यमा विशेष जोड दिने छु ।नेपालमा छरिएर रहेका र असान्दर्भिक नियम कानुनहरूमा एकरूपता ल्याउन सरकारसँगको सहकार्यमाप्रयास गर्ने छु । नेपाल राष्ट्र बैंक, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय वा कुनै पनि नियमनकारी संघसंस्थाले कुनै नीति वा नियम बनाउँदा सरोकारवाला उद्योगी व्यवसायीसँग पर्याप्त परामर्श गरिँदैन । पर्याप्त परामर्श विना कानुन बनाउँदा र पुराना कानुनहरू अद्यावधिक नगर्दा हामीले धेरै समस्या भोग्नु परेको छ । त्यसैले पर्याप्त परामर्शसहितका तथ्यमा आधारित नीति नियम बनाउनका लागि मेरो निरन्तर प्रयत्न, पहल र पैरवी हुनेछ ।
  • नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्षमता र प्रभावकारिता बढाउन प्रदेश तथा स्थानीय सरकारहरूसँगसहकार्य गर्दै दोहोरो कर प्रणालीमा सुधार, व्यवसाय दर्ता सञ्चालन र खारेजी प्रक्रियामा सहजता, घरेलु तथा साना उद्योग तथा व्यवसायहरूको समस्या समाधानका लागि महासंघ र स्थानीय सरकारहरूसँगको सहकार्यलाई विशेष जोड दिनेछु ।
  • महासंघका प्रादेशिक कार्यालयहरूको क्षमता विस्तार गर्ने छु । सरकारको ध्यान आन्तरिक उत्पादन बढाउने भन्दा पनि राजस्व बढाउनेतर्फ मात्रै केन्द्रित छ भन्ने प्रतीत हुन्छ । यसको प्रत्यक्ष प्रभाव उद्योग तथा व्यवसायहरूमा परिरहेको छ । सरकार राजस्वतर्फ केन्द्रित हुँदा आयातमा उच्च वृद्धि हुनु र निर्यातमा गिरावट आउनु स्वाभाविक हो । आन्तरिक उत्पादन बढाउन महासंघले नयाँ र पृथक रणनीतिक योजना बनाउने र सरकारसँग सहकार्य गर्ने संकल्प गर्दछु ।
  • उद्योगी व्यवसायीले धान्न सक्ने ब्याजमा ऋण उपलब्ध गराउन तथा विगतदेखि नेपालमा देखिएको तरलताको समस्या समाधान गर्नका लागि महासंघले हरसम्भव प्रयास गर्ने वाचा गर्दछु । अहिले सबैभन्दा बढी साना तथा मझौला व्यवसायी समस्यामा छन् । सिमेन्ट उद्योगी, छड उद्योगी, निर्माणजन्य उद्योग, जग्गा कारोबार नहुँदा व्यवसायी छट्पटीएको अवस्था छ । होटल रेस्टुरेन्ट, जुत्ता, चप्पलदेखि हरेक प्रकारका उद्योगी व्यवसायी मर्कामा छन् । बजारमा मागमा कमी आएको छ, उत्पादन तथा बजार माग बढाउन नीतिगत तवरबाट गाँठो फकाउनु मेरो प्रमुख दायित्व हुनेछ । यो दायित्व पूरा गर्नका लागि हरसम्भव प्रयास गर्नेछु ।
  • नेपालमा लगानीको कमीलाई सम्बोधन गर्दै, निजी क्षेत्रलाई लगानीको श्रोत जुटाउन कन्ट्री रेटिंग, हेजिंग, स्वदेशी उद्योगी व्यवसायीहरूले सहज र सरल रूपमा वैदेशिक ऋण प्राप्त गर्ने सक्ने व्यवस्था आदि जस्ता आवश्यक नीतिगत व्यवस्थाको कार्यान्वयन गर्न विशेष पहल गर्ने छु ।
  • कर प्रणालीमा आवश्यक सुधार, लागतमा नियन्त्रण, लगानीमैत्री वातावरण र उदार अर्थनीतिजस्ता नीति नियमहरूमा महासंघको विशेष ध्यान हुनेछ । यसका लागि महासंघ तदारुकताका साथ अगाडी बढ्ने वाचा गर्दछु ।
  • हाल नेपालले भोगेको आर्थिक संकटको एउटा मुख्य कारण नेपालको अर्थतन्त्र आयातमुखी हुनु हो । यसमा नेपाली निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता कम हुनुलाई मुख्य कारण मान्ने गरिएको छ । म वाचा गर्छु, मेरो कार्यकालमा नेपाली निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्ने यथासक्य प्रयत्न गर्ने छु । यसका लागि गुणस्तरीय ऊर्जा, यातायात, डिजीटलाइजेसन तथा प्रविधिको उच्चतम प्रयोग र अन्य आवश्यक पूर्वाधारको विकास गरी व्यावसायिक लागत कम गर्न निजी क्षेत्रको तर्फबाट सशक्त हस्तक्षेप गर्नेछु । यसका साथै मानव संसाधनको क्षमता विकास गर्दै सामान्य रोजगारीको खोजीमा पनि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न प्रयत्न गर्नेछु ।