काठमाडौं– उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई यस पटक चितवन–२ मा निक्कै सकस हुने सम्भावना रहेको छ। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ उम्मेदवार रहेका छन् भने एमालेबाट रामप्रसाद न्यौपाने चुनावी मैदानमा छन्। कांग्रेसका श्रेष्ठको चुनावी प्रचारका लागि महामन्त्री विश्वप्रकाश शर्माको कमान्ड खटिएको छ भने एमालेबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे उक्त क्षेत्रमा न्यौपानेका लागि खटिएका छन्। शर्मा र न्यौपानेले लामिछानेलाई नै केन्द्रिकरण गरेर वक्तव्यबाजी गरिरहेका छन्। जसको सामना गरिरहेका लामिछानेमाथि यति मात्र दबाब छैन, उनको उम्मेदवारीविरुद्ध उजुरी समेत परेको छ। त्यसमाथि सर्वोच्च अदालतमा राहदानी प्रकरणमा मुद्दा दर्ता गराउनका लागि लामिछानेविरुद्धको रिट समेत परिसकेको छ।
कांग्रेस प्रवक्ता शर्माले चुनाव जीतेर गएपछि मिडियामाथि खनिएका रविले त्यसअघि नेतालाई गाली गरेको बताए। योसँगै सत्तामा टाँसिनका लागि उनै नेतासँग गठजोड गरेका रविलाई जीताउनुको अर्थ नहुने शर्माको टिप्पणी थियो। उता एमाले उपाध्यक्ष पाण्डेले रवि युवाका नाममा आएको तर एमालेका न्यौपाने नै उनीभन्दा युवा भएपछि चुनाव जीताउन सहयोग अपिल गरेका छन्। नागरिकता पुनःप्राप्ति गरेपछि राहदानीका विषयमा प्रश्न उठ्दैन। अब मलाई बस्नै हुँदैन भन्ने हो भने त मारिदिए पनि भयो नि। लामिछानेले अदालतकै आदेश बमोजिम नागरिकता पुनःप्राप्ति गरेका थिए। उनीविरुद्ध युवराज सफलले मुद्दा चलाउनका लागि दायर गरेको रिटको सुनुवाई न्यायाधीश अनिल कुमार सिन्हाको इजालसमा परेको छ।
नागरिकता खारेज भएपछि पत्रकार सम्मेलनमार्फत मिडियाविरुद्ध बोलेका उनी केही समय मौन रहेका थिए। तर, चुनावी प्रचारका क्रममा अहिले रवि फेरि राजनीतिक दलका अन्य नेताप्रति आक्रामक देखिएका छन्। उनले चुनाव जीत्ने या हार्ने परिणामले बताउला तर यस पटक भने अघिल्लोचोटी भन्दा पनि केही कठिन हुने बताइन्छ। रास्वपाले दोब्बर मतले जीत्ने दाबी गरिरहेको भए पनि बीचमा सत्ताको खेलमा लागेका कारण रविप्रतिको पहिलाको भन्दा अहिले मतदातामा लोकप्रियता खस्किएको भन्ने टिप्पणी हुन थालेको छ। तर, जे होस् राजनीतिक बयानबाजीको आक्रमण, उजुरी र अदालतको मुद्दा थाप्लामा बोकेर उनी चुनवी मैदानमा छन्।