बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

शेखर कोइरालालाई किन बरिष्ठ नेता बनाउँदैनन् देउवा ?

आइतबार, चैत्र १९ २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई संस्थापन पक्षले नराम्रो गरी हेप्न थालेको छ। सरकार विस्तारका क्रममा पनि कोइराला समूहलाई बेवास्ता गरी मन्त्रिपरिषदमा सभापति शेरबहादुर देउवाले आफू पक्षका नेतालाई सहभागी मात्र गराएनन्, राम्रा मन्त्रालयमा पदस्थापन गराए। मन्त्रीका अर्का आकांक्षी रहेका शशांक कोइरालालाई पनि देउवाले रुचाएका छैनन्, यद्यपि केही बाँकी रहेका मन्त्रीको नियुक्ति गराउने सम्भावनाचाहिँ रहेको छ। पार्टीको निर्णय प्रक्रियामा बहुमतमा रहेका देउवाले कोइरालालाई हेपेको यो पहिलो पटक होइन। महाधिवेशनपछि पार्टी पदाधिकारीको वरियता कायम गराउने बेलामा नै शेखरलाई निक्कै पछाडि राखेका थिए।

सभापति देउवाले आफूपछिको बरिष्ठ नेतामा राष्ट्रपति निर्वाचित भएका रामचन्द्र पौडेल, तेस्रोमा कृष्ण सिटौला राखेका थिए। जबकि, कोइरालाको माग तेस्रो बरियता थियो। कांग्रेसभित्रको प्रतिपक्षका नेता भए पनि वरियतामा २६औं नम्बरमा राखिएका कोइरालाले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै ‘बरिष्ठ नेता’ ताकिरहेका छन्। तर सभापति देउवाले भने आफूपछिको वरियतामा कृष्ण सिटौलालाई कायम गर्ने तयारी गरेका छन् भने उत्तराधिकारीका रुपमा उपसभापति तथा उपप्रधान र रक्षामन्त्री पूर्णबहादुर खड्कालाई अघि सारिरहेका छन्।

‘केन्द्रीय समिति, कार्य सम्पादन समितिमा पनि देउवाकै बहुमत रहेका कारण पेल्न खोजिएको छ, यसरी हेप्ने काम मात्र भयो भने पार्टी कसरी अगाडि बढ्ला?’, कोइराला पक्षका एक नेता भन्छन्,‘कांग्रेसले अब पहिलाको जस्तो लयलाई बिगारीसकेको छ।’ त्यसो त प्रधानमन्त्री पदको नै तयारी गरी देउवासँग संसदीय दलमा निर्वाचन लडेका महामन्त्री गगन थापा अगाडि सर्दा शेखर केही कदम पछाडि छन्। आगामी महाधिवेशनसम्ममा सभापतिमा नयाँ पुस्ता हावी हुने सम्भावना पनि रहेको छ। यसो हुँदा कांग्रेसमा रहेको कोइराला विरासत विस्तारै पछाडि पर्न सक्ने अनुमान गरिएको छ, जसको कारक पनि शेखर हुने बताइन्छ। ‘सभापतिका लागि हतार गरेर रामचन्द्र पौडेललाई ब्याक गराउनु आफू पनि ब्याक हुने स्थिति आएको जस्तो देखिन्छ’, स्रोतले भन्यो,‘यसैकारण पनि देउवाले पेलिरहेका होलान्।’