काठमाडौं– सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने धोकोसाथ बारा–२ को उपनिर्वाचनलाई नियाँलिरहेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई रोक्न गठबन्धनमै रहेको जनमत पार्टी कस्सिएको छ । गत निर्वाचनमा एमालेसँगको सहकार्यमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएको उक्त निर्वाचन क्षेत्रमा तत्कालिन सत्ता गठबन्धनका तर्फबाट चुनावमा जम्मा तीन सय मतको हाराहारीमा पराजित भएका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्राएर जनमतले उपेन्द्रलाई रोक्ने अस्त्र तयार पारेको हो। सत्ता गठबन्धनबाट पुनः निर्वाचनमा उम्मेदवार बन्ने अवस्था नदेखेपछि कुशवाह बुधबार जनमत पार्टीमा प्रवेश गरेका हुन्। र, उनलाई नै सीके राउत नेतृत्वको उक्त पार्टीले उप निर्वाचनको उम्मेदवार बनाउने भएको हो। ‘कुशवाहको मतको लोकप्रियता र जनमतले पनि निरन्तर पाइरहेको जनताको समर्थन अझ बढ्ने दुईथरी लाभांशका आधारमा नै उम्मेदवार तय हुनेछ’, जनमतका एक नेता भन्छन्,‘उपेन्द्रविरुद्ध कुशवाह एउटा बलियो चुनौति बन्नेछन्।’
कुशवाहलाई पार्टीमा स्वागत गर्दै राउतले माओवादी आन्दोलनमा योगदान गरेका कुशवाहलाई बारा २ बाट उपचुनावमा उम्मेदवार बनाउने घोषणा गरिसकेका छन्। यति मात्र होइन सोही क्रममा उपेन्द्र यादवलाई उम्मेदवार बनाउँदा सप्तरी–२ का जनताको मतको अपमान हुने समेत राउतको भनाई थियो। मधेसमा राउतको पार्टी विस्तारै बलियो विकल्पका रुपमा उभिन थालेका कारण पनि उपेन्द्रका लागि उप निर्वाचन पनि फलामको च्यूरा चपाउनुको विकल्प नरहेको विश्लेषण गरिन्छ। ‘गठबन्धनमा रहेका जनमत, नागरिक उन्मुक्ति पार्टीको समर्थन कुशवाहलाई हुने देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैं उम्मेदवारी दिने तयारीमा छ’, स्रोतले भन्यो, ‘यस्तो अवस्थामा उपेन्द्रको जीत निश्चित हुने केही देखिँदैन बरु खतरा देखिन्छ।’ प्रतिनिधि सभा र सरकारमा जानका लागि उपेन्द्र यादवले जहिले पनि मौका मात्र खोजिरहेको भन्ने आरोप जनमतको रहेको छ। यसैकारण पनि निर्वाचनका क्रममा उसले सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको थियो। ‘हामीले बलियो उम्मेदवार तयार पारिसकेका छौं। उहाँको स्थानीयबीचको लोकप्रियताले पनि यस पटक फेरि उपेन्द्र उत्तानो पर्नेछन्।’ १० वैशाखका लागि निर्वाचन आयोगले उपनिर्वाचनको घोषणा गरिसकेको छ।