बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजारले बढ्यो

शुक्रबार, चैत्र १० २०७९

काठमाडौं । पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जना बढेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार १० वर्षमा उक्त संख्यामा नेपालको जनसंख्या वृद्धि भएको हो ।

२०६८ सालमा गरिएको गणनाअनुसार २ करोड ६४ लाख ९४ हजार ५०७ जना रहेकामा १० वर्षपछि २०७८ मा गरिएको गणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

जसअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । जुन ४८.९८ प्रतिशत पुरुषको जनसंख्या देखिन्छ । महिला १ करोड ४९ लाख ११ हजार २७ छन् । ५१.०२ प्रतिशत महिलाको जनसंख्या रहेको छ ।

राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन आज सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले जनगणनाबाट जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता, राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताएका छन् ।
“सङ्घीय व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई नीति, योजना तथा कार्यक्रम तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधारसमेत प्राप्त हुनेछ”, उनले भने, “जनगणनाको तथ्याङ्कबाट पन्ध्रौँ योजनाको समीक्षा तथा सोह्रौँ योजना तर्जुमाको अवधारणा पत्र तयार गर्न आवश्यक आधारभूत तथ्याङ्कको आधार पनि प्राप्त हुनेछ ।”

प्रधानमन्त्री दाहालले नेपालका सन्दर्भमा जनगणना देशकै आर्थिक–सामाजिकस्वरुपको यथार्थ स्थिति प्रस्तुत गर्ने एक महत्वपूर्ण तथा बृहत् तथ्याङ्कीय कार्य भएको र यसले जनसाङ्ख्यिक, शैक्षिक, आर्थिक, मानवीय तथा विविध क्षेत्रका तथ्याङ्क यकीन गर्नुका साथै आगामी १० वर्षसम्मका लागि तथ्याङ्कका आधारसमेत सिर्जना गरेको बताए ।

“यसबाट प्राप्त तथ्याङ्कले नेपालको संविधानमा रहेका समाजवादोन्मुख समावेशी विकास र मौलिक हकअधिकारको कार्यान्वयन र मूल्याङ्कन गर्न सहज हुनेछ”, उनले भने ।