काठमाडौं । वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ परेका छन् ।
बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरी नेपाल प्रहरीले यसबारेमा जानकारी गराएको हो । अनुसन्धान कार्यालयको टोलीले चैत ५ गते दिउँसो काठमाडौंको बबरमहल स्थितबाट कृष्णबहादुर कटवालसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
निश्चित रकमको चलखेल गरी विभिन्न सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुटा लिखित तथा नक्कली सूचनाका आधारमा चैत ५ गते कटुवाललाई पक्राउ गरेको थियो ।
कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ताबिना नै लेखापढी गर्ने कार्य गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरूसँगबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण कागजातहरू किर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित फेला पारी निजहरूलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी गराए।
उनका अनुसार निज कटुवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गैरनेपाली विशेषगरी तिब्बतीयन शरणार्थीहरूको सक्कली नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बुबाको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको पाइएको छ । पक्राउ परेका न्युल्केश श्रेष्ठलाई नक्कली बुबा बनाउने गरेको खुलेको छ । श्रेष्ठले हालसम्म गैरनेपाली तिब्बतीयन व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कली नागरिकता बनाउन नक्कली बुबा बनि सहयोग गरेको खुलेको छ ।
उनले नक्कली बुबा बनेर तीनदेखि पाँच लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ । पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बेतियन क्याम्पमा नै बस्दै आएका र २०७९ साल फागुन ३० गते जि.प्र.का. काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना कामनपा १७ राखी ना.प्र.प.नं. २७ ०१ ७९ १५९०१ को नेपाली नागरिकता लिएको प्रहरीले बताएको छ । यसैगरी नागकिरता लिएका अन्य २५/३० जना सक्कली नागरिकता प्राप्त भएको र सोबारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा ४७ वर्षीय कृष्णबहादुर कटवाल, वर्ष ७० वर्षीय न्युल्केश श्रेष्ठ, ४९ वर्षीय हिरालाल शिवाकोटी, २५ वर्षीय लोब्साङ ठिन्ले र ३० वर्षीय विजय लामा रहेका छन् । उनीहरूको साथबाट प्रहरीले स्थानीय पञ्जिकाधिकारी, प्रशासकीय अधिकृत, काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयको छाप चार थान, ई पासपोर्ट एक्लिकेसन फर्म दुई थान, नागरिकता, जन्मदर्ता, लाइसेन्स लगायतका परिचय पत्रहरूको फोटोहरू ५०० थान, नेपाली नगद तीन लाख ५० हजार ५०० र सात थान मोबाइल बरामद गरेको छ ।
यो गिरोहले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५०० बढी तिब्बतीयनलाई नागरिकता दिलाउन सफल भएको पनि खुलासा प्रहरीको अनुसन्धानबाट भएको छ । यो प्रकरणमा गैरनेपालीलाई नेपाली तिब्बतीय शरणार्थीलाई सक्कली नागरिकता दिलाउने कार्यक्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यसरी नागरिकता उपलब्ध गराएको आशंकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाल कर्मचारीहरूमाथि पनि अनुसन्धान थालिएको जनाएको छ ।