काठमाडौँ – बाँकेकी एकल महिला निर्मला कुर्मीको शरीर बन्धक, अपहरण र हत्यासम्बन्धी मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको छ । सरकारले मुद्दामा गहिरो अनुसन्धान र अभियोजन गरी मुद्दा अघि बढाउने सहमतिपछि बाँकेबाट काठमाडौं आएर ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरूले सरकारसँग तीन बुँदे सहमति भएपछि धर्नाका कार्यक्रम स्थगित गरेका छन् ।
आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धर्नारत महिलाहरूसँग छलफलपछि गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बोलाएर मुद्दामा विशेष अनुसन्धान टोली गरी न्यायिक प्रक्रियामा अघि बढाउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि मंगलबारै गृह मन्त्रालयमा भएको छलफलपछि धर्नारत महिलाहरू र सरकारबीच तीन बुँदे सहमति हो । सहमतिपछि ४८ दिनदेखि जारी रहेको धर्ना स्थगित गरिएको धर्नाको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खानले बताइन् ।
प्रधानमन्त्रीले जनाएको प्रतिबद्धता विगतका दुई वटा सम्झौताभन्दा फरक हुन्छ भन्ने आशासहित धर्ना स्थगित गरेको अधिकारकर्मी खानले बताइन् । सहमतिपछि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले माइतीघर पुगेर धर्नारत महिलाहरूसँग भएको सहमतिपत्र सार्वजनिक गरेका छन् ।