बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्वमन्त्री विमला वलीले त्यागिन् पार्टी

सोमबार, फाल्गुन १ २०७९

दाङ  । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली) ले पार्टीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै नेकपा माओवादी पार्टी परित्याग गरेकी छन् । 

गत २४ माघमा जिल्ला समन्वय दाङ कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उनले आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको उल्लेख गरेकी छन् । उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएकी हुन् । 

साविक नेकपाबाट एमाले र माओवादी केन्द्र पुनः आ-आफ्नै अस्तित्वमा फर्किंदा आफू माओवादीमै रहेको र आफ्नो सापटी पैसा लिन जाँदाको विषयलाई लिएर मन्त्रीबाट राजीनामा दिन लगाइएको प्रसङ्ग उल्लेख गर्दै उनले पछि पार्टीले वास्ता नगरेको र ‘युज एण्ड थ्रो’ गरेको बताएकी हुन् ।

‘दुई पार्टी विभाजन हुँदा मैले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरेँ । श्रीमानको योग्दान एमालेमा हुँदा हुँदै पनि म माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन । तर, यसलाई मेरो राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने ग¥यो । माओवादी केन्द्रले पनि यो कुरालाई सामान्यकरण गयो । तर, पनि म यसलाई संघर्षका रूपमा बुझँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो । यो बीचमा केही उत्तारचढाप आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो । ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन्,’ उनले राजीनामापत्रमा उल्लेख गरेकी छन्, ‘तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाईयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन । मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो । त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु ।’ 

माओवादीका कुलबहादुर केसी मुख्यमन्त्री बनेको केही दिनमा विमला र उनका प्रेमी एकराज बस्नेतको चुम्बन गरेको तस्बिर सार्वजनिक भएको थियो ।

एमाले छाडेर माओवादी रोजेकी उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो । प्रेमीको घरमै गएर श्रीमती कुटेपछी माओवादीले उनलाई राजीनामा गराएको थियो । राजीनामा गराएपछि उनी माओवादीसँग असन्तुष्ट थिइन् ।