काठमाडौं । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ ।
आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिको बारेमा सत्तारुढ दलबीच कुनै विमति नरहेको दाबी गरे । उनले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको बताए ।
उनले आजको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने र अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको समेत बताए ।
उनले भने, ‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीहरुको बारेमा र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहे ? भन्ने विषयमा समीक्षाहरु भए । आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ ।’
उनले भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको बताउँदै भने, ‘हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्ता साझेदार दलहरुमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन । रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको छ । उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ ।’
लिङदेनले सत्ता साझेदार दलहरुबीच राष्ट्रपतिको विषयमा विमति भन्ने खबर बाहिर आएपनि त्यसमा सत्यता नभएको जिकिर समेत गरे ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।