बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तीन सहयात्री दलका  नेता गएनन् 

शुक्रबार, माघ २७ २०७९

काठमाडौं  । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा जारी बैठकमा भावी राष्ट्रपति, गठबन्धनभित्र देखिएको अविश्वाससहितका विषयमा छलफल भइरहेको छ ।

बैठकमा सत्तारुढ गठबन्धनका तीन सहयात्री दल भने उपस्थित छैनन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, भर्खरै सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा सहभागी छन् । तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा नगएका हुन् ।

जसपाका अध्यक्ष यादव जनकपुर भएका कारण बैठकमा उपस्थित नभएका हुन् भने जनमत पार्टीका अध्यक्ष राउत विवेकशील साझाको महाधिवेशनमा पुगेका कारण बैठकमा आएनन् । उत्ता नागरिक उन्मुक्तिकी श्रेष्ठ यस अघिको बैठकमा पनि उपस्थित भएकी थिइनन् ।

आज बसिरहेको सम्यन्त्रको बैठकमा आगामी २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा विशेष रुपमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । 

बिहीबार नै संयन्त्रको बैठक बस्ने भनिएको समयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । जसकारण शुक्रबार बिहानका लागि संयन्त्रको बैठक सारिएको हो । 

जारी बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयदेखि प्रादेशिक राजनीतिक समीकरणका विषयमा पनि छलफल हुनेछ ।