काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि इतर समूहबाट महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिने भएका छन् ।
मंगलबार होटल एम्बेस्डरमा बसेको इतर समूहको बैठकमा संसदीय दलको नेताका लागि डा. शेखर कोइरालाले महामन्त्री थापाको नाम प्रस्ताव गर्ने सहमति भएको छ ।
संस्थापनइतर समूहबीच सोमबार र मंगलबार दुई दिन भएको छलफल पछि यो सहमति जुटेको हो ।
उनीहरुबीचको सहमतिअनुसार यही पाँच वर्षमा फेरि संसदीय दलको चुनाव हुने भएमा शेखरलाई गगनले समर्थन गर्ने सहमति समेत भएको बुझिएको छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।
कांग्रेसको संसदीय दलको नेता चयनका लागि सार्वजनिक गरिएको तालिका अनुसार आज मंगलबार उम्मेदवारी दर्ता हुने छ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ ।
दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।