काठमाडौं । समानुपातिकका तीन संघीय र पाँच प्रदेश सांसद टुंग्याउनै ‘महाभारत’ भएपछि कांग्रेसले समय घर्किएपछि आइतबार बिहान मात्रै निर्वाचन आयोगमा नाम बुझाएको छ ।
आयोगले शनिबार कार्यालय समय (बिहान १० देखि अपराह्न ४ बजे) सम्म नाम पठाउने कार्यतालिका तोके पनि कांग्रेसले आइतबार बिहान सवा १ बजे मात्रै नाम बुझाएको हो । कांग्रेसबाहेक थ्रेसहोल्ड कटाएका संघका ६ र प्रदेशका ९ सबै दलले आयोगले तोकेको अवधिभित्रै सांसदको सूची बुझाएका थिए ।
संघीय संसद्मा समानुपातिकतर्फ ३२ सिट पाएको कांग्रेसले संसद्मा ३३ प्रतिशत महिला सहभागिताका लागि पठाउनुपर्ने २९ महिलामा कुनै समस्या रहेन । तर, त्यसबाहेक तीन सिटमा ६ क्लस्टरबाट ६ पुरुष आकांक्षी भएपछि छान्न निकै सकस पर्यो । ६ आकांक्षीमध्ये पाँच संस्थापननिकटका र एक इतर समूहका थिए । खस–आर्यमा प्रकाशशरण महत, आदिवासीमा गोपालमान श्रेष्ठ, मधेसीमा विमलेन्द्र निधि, दलितमा जीवन परियार, मुस्लिममा फर्मुल्लाह मन्सुर र थारूतर्फ योगेन्द्र चौधरीमध्येबाट कसलाई छान्ने भन्नेमा समस्या देखियो । लामो रस्साकस्सीपछि अन्ततः महत, निधि र परियारको नाम छानेर आयोगमा बुझाइएको छ ।
शुक्रबारदेखि छलफल सुरु, आइतबार बिहानसम्म रस्साकस्सी
६ जनाबाट तीन नाम छान्ने गृहकार्य शुक्रबार नै सुरु भएको थियो । शुक्रबार चौधरीबाहेक पाँच आकांक्षीको नाममा छलफल भएको थियो । अन्य पाँचजना वर्तमान र पूर्वपदाधिकारी भएकाले चौधरी छलफलको सूचीमै अटाएका थिएनन् । त्यसमध्ये पनि श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाने गरी परियारको नाम टुंग्याउने विकल्पमा छलफल भएको थियो, तर कुनै निष्कर्ष निस्किएन । शुक्रबार साँझै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले देउवासँग भेटेर थप छलफल गरेका थिए ।
सभापति शेरबहादुर देउवाले शनिबार बिहान ९ बजेका लागि कार्यसम्पादन समिति बैठक बिहीबार नै आह्वान गरेका थिए । तर, शनिबार बिहान बोलाइएको बैठक दिउँसो १ बजे मात्रै बस्यो । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा श्रेष्ठले मात्रै आफ्नो नाम समावेश गर्नुपर्ने अडान राखेनन्, सहमहामन्त्रीसमेत रहेका मन्सुरले पनि मुस्लिम समुदायबाट आफ्नो नाम पठाउनुपर्ने माग राखे ।
‘आफ्नो नाम जसरी पनि पार्नुपर्छ भनेर श्रेष्ठ बैठकमा चर्को रूपमा प्रस्तुत हुनुभएको थियो । सहमहामन्त्री मन्सुरले पनि मुस्लिम समुदायबाट आफू चुनिनुपर्ने भन्दै दबाब दिनुभयो,’ कार्यसम्पादन समिति बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘अपराह्न ३ बजेसम्म चलेको बैठक निष्कर्षमा पुग्न नसकेपछि थप छलफल गरेर नाम छान्ने अन्तिम अधिकार सभापति देउवालाई दिइयो ।’
त्यसपछि देउवाले बालुवाटारमा छलफल चलाए । तर, नेताहरूबीच कुरा नमिल्दा रातिसम्म पनि ६ बाट तीन नाम टुंगिन सकेन । यसबीचमा श्रेष्ठ र मन्सुरले नेताहरूसँग छुट्टाछुट्टै र सामूहिक लबिङ गरेका थिए । संस्थापनइतर र दलितको प्रतिनिधित्व गर्नुपर्ने अवस्थाका कारण परियारको नाम हटाएर अर्को नाम समावेश गर्न सक्ने अवस्था थिएन ।
उता, महत र निधिको विकल्पमा दुवै आफूनिकट नेताहरू समेट्न नसक्ने अवस्थाका कारण सभापति देउवा पनि चर्को दबाबमा थिए । अन्ततः श्रेष्ठ र मन्सुरलाई राष्ट्रिय सभामा लैजाने गरी परियार, निधि र महतको नाम टुंगो लगाइयो ।
शनिबार ४ बजेपछि समय घर्किने भएकाले कार्यालय समयमै आयोग पुगेर कांग्रेस प्रतिनिधि सूर्य भट्टराई टोकन लिएर बसेका थिए । आयोगका कर्मचारी पनि कांग्रेसको सूची कुरेर रातभर कार्यालयमै बसे । आइतबार बिहान १:१५ बजे सहमहामन्त्री जीवन परियार र मुख्यसचिव कृष्णप्रसाद पौडेलले आयोग पुगेर नाम बुझाए ।
चारवटा प्रदेशका पाँच पुरुष नाममा पनि विवाद
संघमा मात्रै होइन, प्रदेशको समानुपातिक सूची टुंग्याउन पनि कांग्रेसलाई गाह्रै पर्यो । प्रदेश १ का दुई, मधेस, बागमती र लुम्बिनीको एक–एक पुरुष नाम छान्न विवाद भएको थियो । संघसँगै प्रदेशको विवाद पनि मिलाउँदा कांग्रेसलाई समय लागेको थियो ।
-नयाँ पत्रिकाबाट