काठमाडौ – नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्ने तयारी गरेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव (तरलता अभाव) भएपछि यसलाई हटाउन बिभिन्न समयमा आफैले बिक्री गरेको टे«जरी बिल्स आफैले सोझै खरिद गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल्सको बोलकवोल मिती बोलकबोल भदौ छ गते अर्थात आज बिहिबार दिनको ३ः०० बजेसम्म तोकिएको छ भने ट्रेजरी बिल्सको खरिद मिती २०७९ असोज सात गते शुक्रबार तोकिएको र भुक्तानी मिती २०७९ पुस मसान्तसम्म तोकिएको छ । राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्ने छ । यसैगरी काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्ने छ । (उदाहरणको लागि १०० को ट्रेजरी बिल्स कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने छ ।
काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण पाँच करोड वा पाँच करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।