बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

जनप्रतिनिधिहरुको प्रशिक्षणमा देउवाले भने : चुनाव जित्न तपाइँहरुको भूमिका महत्वपूर्ण हुन्छ

सोमबार, साउन ३० २०७९

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले सो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा सोमबारबाट सुरु भएको कार्यक्रममा बोल्दै देउवाले सो निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

लोकतन्त्रमा जनताभन्दा ठूलो अरु कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास समेत व्यक्त गरे । 

देउवाले सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने तयारी गरिरहेको बताए ।

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि सफलता हात पार्नका लागि जनताको मन जित्नुपर्ने र त्यसका लागि स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने पटकपटक दोहो-याए । 

प्रधानमन्त्री देउवाले कोभिड संकट समाधान गराउन,  संवैधानिक मूल्यमान्यता अनुसार मुलुकलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको दावी समेत गरे ।

कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति धनराज गुरुङले पार्टीलाई आगामी आम निर्वाचनमा बहुमत नजिकको पार्टी हुने गरी विजयी गराउने काममा पार्टीबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।