काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आफ्नो घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरेको बताउँदै उनले भने, ‘मेरो घर म बाचुन्जेल, मेरो श्रीमती बाचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ । बिरामी भएँ भने तपाईहरुले उपचार गराउनु भयो भने हो नत्र मसँग पैसा छैन । सांसद छु सांसदको हिसावले थोरै त आउँछ । नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ ।’
आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताए । उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए । घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको बताए । ओलीले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पती दान गरेको बताए ।
अध्यक्ष ओलीले जातको पहिचान खोज्ने नभइ सबै नेपालीले नेपाली पहिचान खोज्न आवश्यक रहेको बताए । उनले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातियताका नाममा विभाजन गर्न खोजिएको बताए ।
उनले भने, ‘अहिले गठबन्धनमा भएका सरकारले दुश्मनीतिर राजनीति लैजान खाजेका छन् । हाम्रो समाज स्वस्थ प्रतिष्पर्धातिर जाने की दुश्मनीतिर ? कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेण्टमा ल्याउन खोजिन्छ । हाम्रो पहिचान भनेर । नेपाली पहिचान । हामीले खोज्नुपर्ने नेपाली पहिचान हो । जातका पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा ग-यो । यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ । त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ ।’
अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गरे । उनले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिए ।
अध्यक्ष ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताए । देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको बताए । उनँले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको बताए ।