काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफू राजनीतिमा सधैँ नातावाद कृपावादको विरुद्धमा रहेको बताएका छन् ।
आइतबार काठमााडैंमा आयोजित ‘युवासँग केपी ओली’ कार्यक्रममा उनले नेताले आडम्बरी त्याग्न सके मुलुकको विकास हुने बताए ।
उनले एमाले नेतृत्व नातावाद कृपावाद भन्दा परै रहने पार्टी भएको बताए ।
उनले भने, तपाईंहरुले मेरो भाइ छ आफ्नै, मेरो बुवाको छोरा भन्ने सुन्नुभएको छ ? उसले राजदूत, एमडी हुन बल गरेको छ ? अहिले पनि १० कठ्ठा जमिनमा हलो जोतेर बस्छ । वडा कमिटीमा संगठित छ । उसले थाहा पाएदेखि राजनीति गर्या हो । तर भद्रपुर नगरपालिकाको वडा कमिटीमा छ । मेरो भाइले संसदमा उम्मेदवारी पाउनेवाला छैन । तपाईंहरु ढुक्क हुनुस् । मेरो आफ्नै भाइ किन वडा कमिटीमाछ भने उसले गरेकै काम त्यत्ति हो । जसले जे गर्छ त्यसअनुसारको जिम्मेवारी पाउँछ । खुशीसाथ आफ्नो काम गर्छ र जिविका चलाउँछ ।
अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यको बारेमा पनि कुरा गरे । आफ्नो स्वास्थ्य संवेदनशील रहेकाले श्रीमतीको साथ–सहयोग चाहिएको उनले बताए । उनले भने, ‘मेरो स्वास्थ्य सर्कसमा डोरीमा हिड्ने मान्छेको जस्तो छ ।’
अध्यक्ष ओलीले आफू वर्तमान सरकारको विरोधमा नभए पनि परिस्थितिले नै कटाक्ष गर्नुपरेको समेत बताए ।
उनले सेटिङमा बजेट बन्दा र व्यापारीले करका दर तोक्दा आफ्नो मन पोल्ने बताए आफू प्रधानमन्त्री छँदा देशमा पैसाको छेलोखेलो भए पनि अहिले पैसा रित्तिएर विकास निर्माणको काम ठप्प भएको दाबी गरे ।
आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग, धरहरा रानीपोखरी, दरबार हाइस्कुल, आर्मी हेडक्वाटर बनेको र ३ सय ९६ वटा अस्पताल एकै ठाउँबाट शिलान्यास गरेको बताए । ‘अहिले विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ ? पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो ? ’, उनले भने। त्यति धेरै पैसा कसरी हरायो भन्नेमा आफू चिन्तित भएको ओलीले बताए ।