मौका पाउँदा कुनै पनि बेला समूहको समीकरण परिवर्तन गर्न सक्ने भएकाले थापालाई देउवाले मौका दिँदै आएका हुन् ।
काठमाडौं – पछिल्लो समय प्रधानमन्त्रीका लागि आफू प्रतिस्पर्धामा उत्रिन सक्ने अभिव्यक्ति दिएका कारण कांग्रेस महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाले ‘चेक एन्ड ब्यालेन्स’मा राख्ने प्रयत्न गरिरहेका छन्।
तर उनको यो घोषणालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले सकारात्मक लिँदै साथ दिने बताएपछि देउवाले शेखर कोइराला पक्षका बजीरका रुपमा रहेका थापालाई मौका दिने र आफूतिर ढल्काउने प्रयत्न पनि उत्तिकै गरेका छन्।
सत्ता गठबन्धनको सिट बाँडफाँट गर्ने कार्यदलमा सदस्य राखिएका थापालाई देउवाले विवादीत मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पारित गराउने, बुझाउने विषयमा पनि अगाडि सारेका थिए। कुनै बेला कृष्ण सिटौला क्याम्पमा रहेर महामन्त्रीमा पराजित भएका थापा कोइराला क्याम्पमा आएपछि भने सर्वाधिक मतसहित बिजयी भए। त्यसैले उनलाई कोइराला फ्याक्टरका बजीर भनिँदै आएको छ।
सिट बाँडफाँटका विषयमा नै कांग्रेसभित्र तिव्र विवाद हुने देखिएका बेला थापाको भूमिकालाई कोइरालाले मात्र होइन देउवाले पनि प्रभावकारी बन्न सक्ने आँकलन गरेका छन्। कोइराला समूहले न्यायोचित उम्मेदवार आफू पक्षलाई दिनुपर्ने र त्यसो नगरेको खण्डमा ४० प्रतिशतको हिस्सेदारी हुनुपर्नेमा जोड दिएका छन्।
‘कांग्रेसभित्र यो विवाद बढ्न सक्छ। एउटा पक्ष पेलेर जाने र अर्काले भाग माग्ने हुन्छ। यी दुवै पक्षलाई मिलाउन सक्नेचाहिँ गगन थापा हुन्’, स्रोतले भन्यो,‘त्यहि भएर पनि सभापति देउवाले थापालाई सन्तुलित भूमिकामा राख्नुभएको छ।’
थापालाई कांग्रेसभित्र प्रभावकारी काम गर्न सक्ने युवा नेताका रुपमा पनि व्याख्या गरिन्छ। तर पछिल्लो पटक देउवा समूह केन्द्रीय समितिमा बहुमतमा रहेका कारण मौकाबाट उनी बञ्चित हुन सक्ने पनि कतिपयको अनुमान छ। थापाको विकल्पमा देउवाले पत्नी आरजु देउवा राणालाई अगाडि बढाइरहेको र उत्तराधिकारीका रुपमा पनि स्थापित गराउन खोजेको चर्चा चलेको छ।
युवा पुस्ताले भने थापालाई नै कांग्रेसको उत्तराधिकारीका रुपमा व्याख्या गरिरहेका छन्। अहिले उनी कोइरालाका उत्तराधिकारीका रुपमा क्याम्पमा देखिए पनि आगामी दिनमा कसरी अगाडि बढ्लान् वा क्याम्प परिवर्तन गरेर मौकालाई हात लिन सक्लान् भन्ने भिन्नखाले अनुमान गरिएको छ।
सिटौला क्याम्पलाई त्यागेका थापा कुनै बेला देउवा क्याम्पमा नै सक्रिय रहेका कारण आगामी राजनीतिक भविष्यका लागि सबै प्रकारका सम्भावित समीकरण हुन सक्ने पनि अनुमान गरिन्छ।