बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

पार्टी भित्रै नेता मिलाउन ठूलो चुनौती छ : प्रचण्ड

आइतबार, साउन २९ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सबैभन्दा ठूलो चुनौती नेताहरूलाई मिलाउनमा भएको बताएका छन् । 
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्ने स्थिति अहिले पनि देख्छु ।’ प्रचण्डले पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा आफूहरूले ५० भन्दा बढी स्थान गुमाउनुपरेको जिकिर गरे। आफूलाई सबैभन्दा ठूलो चुनौती नेताहरू मिलाउनमा भएको भन्दै उनले भने, ‘नेताहरू मात्र मिलाउन सक्ने हो र एकढिक्का भएर यो पार्टीलाई नेतृत्वमा स्थापित गर्ने भन्ने हो भने जनतामा दुःख छैन ।’

तराई मधेशमा हजारौँ पार्टी प्रवेश गरिरहँदा आफ्नै पार्टीका नेताहरू तँछाडमछाड गरेर बसेको उनको आरोप थियो । उनले संघ र प्रदेशको निर्वाचन आइरहेका बेला पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए देशको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त हुने बताए ।

उनले कार्यक्रममा स्व बोगटी धेरै पढेलेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरूभन्दा राम्रो काम गरेको बताएका थिए  । उनले भने, ‘ अहिले पार्टीभित्रका नेता कार्यकर्ताको आचरणप्रति धेरैको असन्तुष्टि छ । उनीहरू आत्मकेन्द्रित, स्वार्थ केन्द्रीत भएको गुनासो छ । हामीले पनि अनुभव गरिरहेका छौं । तर, आज समाजले अर्को व्यवहार मागिरहेको छ । यो अन्तरविरोधलाई समाधान गर्नुपर्छ ।’