काठमाडौं । यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
तिथिमा पूर्णता प्रदान गर्ने भएकाले हरेक पूर्णिमाको छुट्टाछुट्टै महत्व रहँदै आएको छ । सूर्य तथा चन्द्रमा समसप्तक हुने विशेष अवस्था नै पूर्णिमा हो। पूर्णिमा तिथिको समागमनमा विशेषगरी जल र वातावरणमा विशेष उर्जा हुने हुँदा यसले प्रतक्ष रुपमा सम्पूर्ण चराचर जगतमा छुट्टाछुट्टै प्रभाव पार्ने गर्दछ । चन्द्रमाको प्रभाव मन र मस्तिष्कमा अत्यधिक पर्ने हुदा धेरै मानिसको जीवनमा औंसी र पूर्णिमाको प्रभाव फरक फरक तरिकाबाट परिरहेको हुन्छ । चन्द्रमाले यस तिथिको स्वामित्व ग्रहण गर्ने भएकाले पनि पूर्णिमाको विशेष महत्व रहदै आएको छ।
जसरी तीज पछिको ऋषिपञ्चमी महिलाका लागि जति महत्वपूर्ण मानिन्छ, पुरुषका लागि पनि त्यति नै महत्वपूर्ण पर्वका रुपमा यस दिनलाई लिइन्छ। पुरुषले जान ९अन्जानमा वर्ष भरि गरेका कृत्याकृत्य कार्यहरूको प्रायश्चित्तका रुपमा श्रावण स्नानको विशेष महत्व शास्त्रमा उल्लेख्य गरिएको छ। श्रावण शुक्ल चतुर्दशीका दिन चोखनीतिका साथ मुण्डन गर्दै एक छाख खाई पूर्णिमाका दिन गुरु, शिष्य लगायतका अन्य व्यक्ति सामूहिक रुपमा नदी, पोखरी, तलाउ, कुवा वा ईनार आदि गरिएका पवित्र जलाशयमा गई माटो, गोबर, भष्मका साथ कुश, दतिवन, बास्नादार फूल, दूबो प्रयोग गर्दै स्नान गर्नुपर्ने शास्त्रीय नियम रहिआएको छ ।
स्वास्थ्य विज्ञानका आधारमा उक्त स्नानमा आध्यात्मिकतका साथ ९ निरोगीता र आयुर्वेदिक प्राकृतिक चिकित्सा पद्धतिका रुपमा व्याख्या गरिएको छ । सामूहिक सहभागितामा तीर्थ प्रार्थना सहित विधि पूर्वक स्नान गरिने हुनाले श्रावणीस्नान भनेर व्याख्या गरिएको छ ।
विशेषगरी वैदिक बिधिअनुसार शास्त्रीय नियममा रहेर बनाईएको जनै धारणगरी रक्षा बन्धन लगाएमा विभिन्न प्रकारका बन्धनबाट मुक्त हुनुका साथै सम्पूर्ण समस्या हट्ने शास्त्रमा व्याख्या गरिएको छ।
‘येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
‘जुन रक्षा (काँचो धागो) ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । वैदिक परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएको छ । कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।
यसै दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने हातका नाडिमा दीर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ । यो बर्ष शनि,बृहस्पति तथा मंगलग्रह एकसाथ बलियो अवस्था भएका समयमा जनैपूणिर्मा तथा गाईजात्रा परेकाले विशेष सकारात्मक रुपमा हेरिरहेको छ ।
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताए । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।
तराई क्षेत्रमा राखी बाँधिदै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने लाग्छ ।