बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भइरहेको छ : अध्यक्ष ओली

आइतबार, साउन २२ २०७९

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् ।

उनले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपालले बिंडको भूमिका निभाइरहेको टिप्पणी गरे ।
शनिबार राजधानीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको लागि परमादेश जारी गरीपाऊँ भन्ने यिनै बिंड हुन् ,’ प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै उनले माओवादी र नेकपा एसका कार्यकर्तालाई सम्झाएर फकाएर फर्काउनुपर्ने बताए ।

काँग्रेसको कडा आलोचना गरेका ओलीले आफूहरुमाथि विगतमा दमन भएको बताए । काँग्रेसमाथि पञ्चायतले दमन गरेको र काँग्रेसको शासनमा उसले दमन सुरु गरेको आरोप लगाए ।

ओलीले आफ्नो पार्टीलाई देश बनाउनका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत चाहिएको पनि दोहो-याए । । मुलुकको शान्ति, समृद्धि र विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने दावी गर्दै उनले त्यसका लागि निर्वाचनमा बहुमत ल्याउने गरी चुनावको तयारी गर्न पनि पार्टीको सिंगो पंक्तिलाई सचेत गराए ।

अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुवा भएको आरोप लगाउँदै सतर्क रहन पनि सबैलाई आग्रह गरे । विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उनको जिकीर थियो ।