शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कांग्रेसलाई धोका दिन्नौँ

शनिबार, साउन १४ २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससंगको सहकार्य टुटेर अर्को गठबन्धन बन्छ कि भन्ने भ्रमबाट मुक्त हुन आफ्ना कार्यकर्तालाई सर्कुलर पास गरेका छन् । उनले हाल चर्चामा आएको समाजवादी केन्द्रका विषयमा आफूहरुले छलफल समेत नगरेको बताउदै तत्काल अन्य कुनै गठवन्धन बन्ने सम्भावना नरहेको बताएका छन् ।

प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनको विषयमा कुनै द्विविधा नपाल्न आग्रह गरे । प्रचण्डले भने, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’

उनले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताएका छन् । ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’

उनले गठबन्धनभित्र सबैलाई फाइदा हुने गरी जानुपर्नेमा जोड दिए । खासगरी ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उद्धार र जिम्मेवार हुनुपर्ने उनले बताएका छन् । उनले भने, ‘हामी सबैको तागतले यो सरकार बनेको हो । त्यसैले कसैले पनि एकलौटी गर्न खोज्नु हुँदैन ।’ उनले गठबन्धनमा रहेका वामपन्थीहरुबीच एउटै चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने विषयमा छलफल भइरहेको बताए । तर, समाजवादी केन्द्र बनाइहाल्ने सम्भावना नरहेको उनले प्रष्ट पारे ।