बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अस्थिरताको कसीः देउवासँग आलोपालो प्रधानमन्त्रीको सर्त

सोमबार, साउन ९ २०७९

काठमाडौं। ५ बर्षको स्थिर सरकार देख्नै नसक्ने चरणमा पुगेका छन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। तत्कालिन नेकपामा असफल भएको आलोपालो प्रधानमन्त्रीको प्रस्ताव चुनावसम्म नै गठबन्धन बनाई जाने सहमति गरेको नेपाली कांग्रेससँग पनि प्रचण्डले गर्न भ्याएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले गठबन्धन चुनावसम्म नै लैजाने निर्णय गरेपछि प्रचण्डले फ्याँक्ने पासा आलोपालोको नै हुने लगभग निश्चित भएको एक नेताले बताए। कांग्रेसले उक्त निर्णयचाहिँ प्रचण्ड भारत भ्रमणमा रहेको बेला नै गरेको थियो।

काठमाडौं उत्रिएपछि कांग्रेसको निर्णयलाई स्वागत गरेका प्रचण्डले गठबन्धनले बहुमत ल्याएको खण्डमा पहिलो चरणमा प्रधानमन्त्री बन्ने धेय पनि राखेका छन्। उनले उक्त महत्वकांक्षाको खुलासाचाहिँ सार्वजनिक कार्यक्रममा गर्दै आएका छन्। माओवादी केन्द्रको एउटा कार्यक्रममा प्रचण्डले भने,‘फेरि पनि प्रधानमन्त्री बनी देशको नेतृत्व गर्ने अभिलासा छ।’

माओवादी युद्ध सुरु गराएर मुलुकलाई कहिल्यै पनि स्थिर बाटोमा रहन नदिएका प्रचण्ड खुला राजनीतिमा आए पनि अस्थिरताको विन्दुमा उभिएका थिए। बलियो मत ल्याई गणतन्त्र घोषणापछि बनेको सरकारमा प्रधानमन्त्री रहँदा नेपाली सेनाका तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने निर्णय गर्दा नौ महिनामा नै सत्ता छाड्नुप¥यो। त्यसपछि बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारलाई २२ महिनामा ढाल्दै झलनाथ खनालको सरकार बनाउने खेलमा प्रचण्ड लागेका थिए।

‘प्रचण्डले कुनै पनि सरकार स्थिरसँग चल्न दिएका छैनन्। खनालपछि डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन गराए तर संविधानसभा नै असफल पनि बनाएका थिए’, एमालेका एक नेता भन्छन्,‘नेकपाको बहुमतको सरकार गिराउन पनि उनकै भूमिका सक्रिय रह्यो। यो क्रममा एमाले विभाजन गराउनेदेखि अदालत सेटिङसम्ममा उनको भूमिका प्रमुख रह्यो।’

स्थानीय चुनावमा गरिएको तालमेलले दिएको सन्तुष्टिबाट कांग्रेस पुनः तालमेलको निम्ति उत्प्रेरित बनेको छ। उसले प्रचण्डका उक्त प्रस्तावमा आलोपालो प्रधानमन्त्री बन्ने विषयमा सहमति जनाउन सक्ने बताइएको छ। बाम एकता वा तालमेल हुन नदिनका लागि पनि कांग्रेस उक्त सम्झौतामा राजी हुन सक्ने अनुमान गरिएको छ।

सत्ता गठबन्धन दलका प्रमुखहरूले चुनावपछि संयुक्त सरकार बनाउने लक्ष्य लिएको लुकाएका छैनन्। तर भावी सरकारको नेतृत्वबारे प्रचण्डको पछिल्लो अभिव्यक्तिले चर्चा बढाइदिएको पाइन्छ। प्रचण्डले एउटा अन्तरवार्तामा आलोपालोको छलफल हुने खुलासा गरेका थिए।

त्यसो त भारतमा प्रचण्ड र प्रधानमन्त्री देउवा पत्नी आरजु राणाबीच आलोपालोको सहमति भएको भन्ने एउटा लिखत सार्वजनिक भएको थियो। तर, प्रचण्डले त्यसलाई नकार्दै आएका छन्। उनले जनकपुर पुगेर पनि उक्त सहमति नभएको बताए। तर, उच्च स्रोतले भन्यो,‘प्रचण्डको तर्कमा विश्वास गर्ने आधार छैन, उनले एमसीसीलाई पत्र लेख्या छैन भन्ने गरेका थिए। तर, पठाएको पुष्टि भयो। सहमति भएको पनि हुनसक्छ।’

प्रचण्डले सार्वजनिक जीवनको राजनीतिक यात्रामा पनि पहिलो होस् वा तेस्रो शक्तिका रुपमा स्थापित भएका कारणले नै सत्ता समीकरणलाई भत्काउँदै आउने गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको तत्कालिन ९ महिने सरकार पनि प्रचण्डले गिराएका थिए भने बहुमतको सरकार पनि उनैको चलखेलले ढल्दा अस्थिरताले प्रश्रय पायो।