बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देश विचौलियाको नियन्त्रणमा पुगेको एमालेको ठहर

मंगलबार, साउन ३ २०७९

काठमाडौं । नेकपा (एमाले)ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने भएको छ  ।

एमालेले जितेका स्थानीय तहमा जनप्रतिनिधि भएको ठाउँको मूल्य नियन्त्रण गर्न बजार अनुगमन गराइने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । राज्यको नियामक निकाय कमजोर हुँदा बिचौलियाको चलखेल भएर उपभोग्य बस्तुको मूल्य आकाशिएको उनले बताए ।

सोमबार काठमाडौँमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा सबैले उपभोक्ताका साझा मुद्दा बनाएर मूल्य नियन्त्रण गर्नुपर्ने उनले बताए । मूल्यवृद्धिले गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुईथरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको दाबी गरे । ‘मैले नै घरमा हरेक पटक एकथरि तरकारी पाक्ने छ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन,’ उनले भने, ‘मन्त्री पनि भएँ, सांसद पनि छु । तर मेरो घरमा दुईथरि तरकारी बनाउने स्थिति छैन । अरुको के होला ?’

उनले वर्तमान राजनीतिक गठबन्धनभित्र खतरनाक वित्तीय गठबन्धन भइरहेको समेत बताए ।

उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताए । कालो धनलाई सेतो बनाउन अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको उनको भनाइ थियो । आर्थिक हिसावले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको बताउँदै उनले भने, ‘कालो धनलाई सेतो बनाउने प्रयासहरू भए । अहिले गभर्नरमाथिको हमला त्यही हो । हिजो उहाँहरूले हटाउने प्रयास गर्नुभएकै हो,’ ज्ञवालीले भने, ‘जम्माजम्मी कारण के ? कसैले बाहिरबाट ४० करोड रुपैयाँ ल्यायो । श्रोत देखाउन सकेन । मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नु । त्यो गर्न नमाने बापत् राष्ट्र बैंकमाथि हमला भएको हो । अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् । आर्थिक हिसावले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको छ ।’ 
ज्ञवालीले राज्य डरलाग्दो रूपमा विचौलियाको नियन्त्रणमा जान थालेको समेत बताए । राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उनको आरोप छ । अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उनले उल्लेख गरे । राज्यले एकथरि उद्योगलाई लाभैलाभ र अर्कोथरिलाई बन्द गर्नुपर्ने अवस्थामा पु¥याएको उनले आरोप थियो । 

यसैगरी एमाले सुशासन विभागका प्रमुख यज्ञराज सुनुवारले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए । 
सुनुवारले सुशासनका दृष्टिले बितेको एक वर्ष भ्रष्टाचार र राज्यको बिचौलियाकरणमा परिणत भएको र दैनिक उपभोग्य वस्तुको मूल्य कहालीलाग्दो ढंगले वृद्धि भएको बताए ।
सुनुवारले अब एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले नियमित अनुगमन गरेर सत्यतथ्य सार्वजनिक गर्ने तथा सडक र संसदबाट भण्डाफोर हुने बताए ।
एमालेका अनुसार दैनिक उपभोग्य वस्तुका साथै निर्माण सामग्री र इन्धनमा मूल्यवृद्धि गर्दा निश्चित व्यापारीलाई पहिले नै जानकारी दिएर स्टक गर्न लगाइएकोसमेत पाइएको छ । सरकारमा बसेका व्यक्तिहरु नै कालोबजारीमा संलग्न रहेको एमालेको आरोप छ ।