ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कोही पनि स्वतन्त्र हुन नसक्ने बताएका छन् ।
ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा अध्यक्ष प्रचण्डले अहिलेको जमानामा र अहिलेको नेपालमा स्वतन्त्र भन्ने कोही नभएको जिकिर गरे ।
अगाडि बढ्ने कि पछाडि फर्कने भन्ने दुईवटा विकल्पबाहेक अरु बाटो अहिले नेपालमा आफूले नदेखेको उनले बताए। ‘स्वतन्त्र भन्ने यहाँ कोही हुँदैन, अहिलेको जमानामा र अहिलेको नेपालमा । अगाडि बढ्ने कि पछाडि फर्किने दुईवटा विकल्प मात्रै छन्’, उनले भने, ‘अर्को बाटो मैले देख्दैनँ ।’
उनले श्रमजिवीहरूले विज्ञान प्रविधिको प्रयोग गरेर कसरी लड्न सकिन्छ भनेर काम गर्नुपर्नेमा जोड दिँदै भने, ‘हाम्रो समाजको चेतना वैज्ञानिक कुरालाई अनुशरण गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘विज्ञानलाई विश्व दृष्टिकोणको रुपमा स्वीकार्दै जानुपर्छ र नेतृत्वले यसको लागि संघर्ष गरिरहनुपर्छ ।’
प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक ठाउँमा हुनैपर्छ भन्ने आफ्नो विश्वास अझै रहिँरहेको बताउँदै केही नयाँ गर्नुपर्छ भन्नेहरूमाथि घेराबन्दी हुने संस्कार नेपालमा रहेको उनको भनाइ थियो ।