काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उनले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे । उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए ।
देशको अर्थतन्त्र तहसनहस रहेको अवस्थामा नेपाल प्रहरीलाई हतियार खरीद गर्ने योजना सरकारको कमिशनको षडयन्त्र रहेको उनले आरोप लगाए ।
नेपाल प्रहरीलाई यतिबेला हतियार होइन ब्यारेक र नयाँ प्रविधिको अनुसन्धानका लागि उपकरण चाहिएको उनले बताए । नयाँ नयाँ किसिमका हत्याहिंसाका र मर्डरका केस आइरहेकाले अनुसन्धानलाई सहज बनाउन त्यो किसिमका प्रविधियुक्त उपकरण बरु आवश्यक रहेको उनको भनाइ थियो ।
‘पाँचदलीय गठबन्धन अब वित्तीय गठबन्धन, लाभको गठबन्धन, फाइदाको गठबन्धनमा परिणत भएको छ, नेपाल प्रहरीलाई आवाश्यक नै नपरेको हतियार खरिद गर्ने निर्णय गरेर यसलाई पुष्टि गरेको छ,’ सांसद सिलवालले भने, ‘बिचौलियाको भरमा हतियार खरिद गर्न रकम निकासा गराइँदैछ, यतिवेला नेपाल प्रहरीलाई हतियार होइन, प्रविधियुक्त बनाउन जरुरी छ ।’
सिलवालले मुलुक आर्थिक अवस्था तहसनहस भएको अवस्थामा बजेट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८४ करोड रुपैयाँ हतियार खरिद गर्न खोजेको प्रति आपत्ति जनाएका थिए ।
उनले यतिबेला मारमा रहेको मुद्रा संचितिलाई हतियार खरीदको निहुँमा राष्ट्रलाई लुट्ने षडयन्त्र भइरहेको उनको आरोप थियो ।