काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु कमलादीस्थित प्रज्ञा भवन पुगेका छन् ।
बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्नेछ । गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पनि चयन हुन सकेका नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।
महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो ।
आजबाट सुरू केन्द्रीय कमिटी बैठकको कार्यसूचीमा भए पनि पदाधिकारी छनोट हुने निश्चित नरहेको नेताहरूले बताएका छन् ।
माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत महासचिवको आकांक्षी छन् । राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।
गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो ।
महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउने छन् ।